कायरो, २७ साउन (रासस/एपी) : स्थानीय अधिकार समूहका अनुसार सुडानको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले सोमबार उत्तरी डार्फर प्रान्तको राजधानी अल–फासेर बाहिरको अनिकालग्रस्त विस्थापित शिविरमा आक्रमण गरी ४० जनाको हत्या गरेको छ ।
अबु सुक विस्थापन शिविरमा काम गर्ने इमर्जेन्सी रेस्पोन्स रुम्स समूहले फेसबुकमा एक विज्ञप्तिमा सुडानी सेनासँग युद्धमा रहेको आरएसएफले शिविरका केही भागमा आक्रमण गरी नागरिकहरूलाई उनीहरूकै घरहरूमा निशाना बनाएको बताएको छ । सुडानभरि सहायता प्रदान गर्ने सामुदायिक कार्यकर्ता समूहले कम्तीमा १९ जना घाइते भएको बताएको छ ।
करिब चार लाख ५० हजार विस्थापित मानिस बस्ने अल–फासेर बाहिरको अबु सुक विस्थापन शिविरमा युद्धका क्रममा बारम्बार आक्रमण गरिएको छ । आरएसएफले बारम्बार आक्रमण गरे तापनि सुडानी सेनाको एल–फासेरमाथि नियन्त्रण छ ।
यसैबीच, अल–फासेरको प्रतिरोध समितिले आक्रमणको पुष्टि गर्दै फेसबुकमा उक्त दृश्यले ‘निर्दोष, रक्षाविहीन मानिसहरू विरुद्ध गरिएको भयानक उल्लङ्घनको सीमालाई प्रतिबिम्बित गर्दछ’ भनी बताएको छ । प्रतिरोध समितिहरू समुदायका स्थानीय नागरिकहरूको समूह हो जसमा मानव अधिकारकर्मीहरू समावेश छन् ।
येल विश्वविद्यालयको मानवीय अनुसन्धान प्रयोगशाला (एचआरएल) ले उपग्रह तस्बिरहरू पोस्ट गरी सोमबार अबु सुक शिविरमा ४० वटा सवारी साधन उपस्थित भएको देखाएको छ । आरएसएफको आक्रमणका रिपोर्टहरू पुष्टि गर्ने प्रयासमा, प्रयोगशालाले सवारी साधनहरू शिविरको उत्तरपश्चिमी इलाकामा रहेको बताइएको छ ।
आफ्नो रिपोर्टमा येल एचआरएलले तस्बिरहरू र फुटेजहरू सङ्कलन र विश्लेषण गरेको बताएको छ । विश्लेषणले कथित रूपमा ‘आरएसएफले तिनीहरूबाट भागेर घस्रिरहेका मानिसहरूलाई गोली हानेको र जातीय अपशब्दहरू प्रयोग गरेको’ देखाउँछ ।
समूहले शनिबार सङ्कलन गरेको अन्य उपग्रह तस्बिरहरूले स्पष्ट रूपमा आरएसएफले सहरको उत्तरमा अल–फासेरदेखि कुतुम सडकका विन्दुहरू र उत्तरी डार्फरको मेलिटको दिशामा खुलेको ठाउँमा नियन्त्रण गरेर अल–फासेरबाट भाग्न मानिसहरूले प्रयोग गर्ने मार्गहरू अवरुद्ध गरेको देखाएको छ ।
सुडानमा सन् २०२३ अप्रिलमा राजधानी खार्तुममा गृहयुद्ध सुरु भयो र आरएसएफ र सेनाबीचको तनावपछि देशभरि यो गृहयुद्ध फैलियो । लडाइँले ४० हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, एक करोड २० लाखलाई विस्थापित गरेको छ र धेरैलाई अनिकालको किनारमा धकेलेको छ । मानवतावादीहरूका अनुसार अबु सुक शिविर कडा अनिकालको अवस्था भएका दुई शिविरमध्ये एक हो ।
सुडानी सेनाले सोमबार अल–फासेरमा आरएसएफ लडाकुहरूसँग बिहान ६ बजे झडप सुरु भएको र दिउँसो समाप्त भएको बताएको छ । सामाजिक सञ्जालमा आफ्ना पोस्टअनुसार यसले अर्धसैनिक समूहलाई पराजित गरेको दाबी गरेको छ ।
“हाम्रो सेनाले आतङ्कवादी मिलिसियाद्वारा धेरै अक्षहरूबाट ठूलो मात्रामा आक्रमणलाई भगाएको थियो र दुश्मनको जीवन र उपकरणमा भारी क्षति पुर्याएको थियो, किनकि १६ भन्दा बढी लडाकू सवारी साधन नष्ट गरियो र जलाइयो र बख्तरबन्द कारहरू सहित ३४ वटा सवारी साधन कब्जा गरियो”, सेनाले एक विज्ञप्तिमा दावी गरेको छ ।
आरएसएफले सोमबार राति आफ्नो टेलिग्राम च्यानलमा थप विवरणहरू प्रदान नगरी एल–फासेरमा प्रगति गरेको र सैन्य उपकरणहरू जफत गरेको बताएको छ ।
डार्फरका गभर्नर मिनी आर्को मिनावीले फेसबुकमा सोमबारको लडाइँमा आरएसएफको स्पष्ट सन्दर्भमा अल–फासेरले आफ्नो भूमिको विश्वासघात गर्नेहरूमाथि विजय हासिल गरेको बताउनुभयो ।
यसैबीच, सुडान डाक्टर नेटवर्कका अनुसार उत्तरी कोर्डोफान प्रान्तमा आरएसएफमाथि अगस्टको सुरुदेखि लडाइँका कारण ६६ गाउँबाट तीन हजारभन्दा बढी परिवारलाई विस्थापित गरेको आरोप लगाइएको छ ।
समूहले आरएसएफले ती मानिसहरूको सम्पत्ति लुटेको र उनीहरूको पैसा र गाईवस्तु चोरेको पनि बताएको छ । विस्थापितहरू गत हप्ता खार्तुम र ह्वाइट नाइल प्रान्तमा आइपुगेका थिए । संयुक्त राष्ट्रसङ्घको पछिल्लो अपडेटअनुसार प्रान्तका गाउँहरूमा हालै भएका आक्रमणहरूमा १८ जना सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफान दुजारिकले सोमबार सुडानको ‘अत्यधिक गम्भीर अवस्था’ को चेतावनी दिनुभयो भने संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला एजेन्सीका सञ्चालन र वकालत निर्देशक इडेम वोसोर्नमले अल–फासेरको अवस्थाबारे चेतावनी दिँदै केवल एक साताभित्र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको र तीमध्ये अधिकांश महिला र बालबालिकाहरू रहेको बताउनुभयो ।