दोधारा चाँदनी (कञ्चनपुर), २७ साउनः महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ ।
आइतबार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
आइतबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले खोजतलास गरे पनि बालिकाको अवस्था पत्ता लाग्न नसकेको हो । “नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन”, उहाँले भन्नुभयो, “आज तेस्रो दिन पनि महाकाली नदीमा खोजीकार्य जारी छ ।” उहाँका अनुसार महाकाली नदीमा नुहाउने क्रममा भीमदत्त–११ का मुकेश पन्तकी ६ वर्षीया छोरी सानवी र सोही ठाउँका पदमराज पन्तकी ८ वर्षीया छोरी जीविका पन्त महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।