साउन २७, २०८२ मंगलबार

काठमाडौँ, २७ साउन : राष्ट्रियसभाका सांसदहरूले देशको कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

    राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले पुँजीवादी मुलुकमा पनि प्रगतिशील कर प्रणाली अवलम्बन गरिएको चर्चा गर्दै कर प्रणाली पारदर्शी नहुँदा वित्तीय अनुशासन कायम हुननसकेको  बताउनुभयो । 

    नेपाली कांग्रेसका नारायणदत्त मिश्र र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उर्मिला अर्यालले कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको हो । चिनीले  भरिएका बोरालाई चामल भनेर भन्सारबाट बिल बनाइने गरेको आरोप सांसद मिश्रले लगाउनुभयो । राष्ट्र निर्माणमा महिलाले गरेको योगदानको कदर नभएको तथा उनीहरूलाई उचित स्थान नदिइएको गुनासो सांसद अर्यालको थियो । 

    यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले युवा लक्ष्यित नीति तथा कार्यक्रम  कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 
    
     नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो खस्दा सडक अवरुद्ध भएकाले तिनको मर्मतसम्भारलाई प्राथमिकता दिन सरकारसँग अनुरोध गर्नुभयो ।