साउन २७, २०८२ मंगलबार

काठमाडौँ, २७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद गोपीबहादुर सार्की अछामीले कैदीबन्दीको सङ्ख्याको आधारमा कारागारको व्यवस्था गर्नुपर्ने सरकारसँग माग गर्नुभएको छ । 

    राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उहाँले भन्नुभयो, “देशैभर ७२ जिल्लामा ७५ वटा कारागार रहेका छन् । बन्दीको सङ्ख्याअनुसार कारागार कम छ, यसको सरकारले व्यवस्थापन गर्नुपर्छ ।”
    
    उहाँका अनुसार देशैभरका २२ वटा कारागारको अवस्था सामान्य रहेपनि, अन्यमा कारागारमा भने कम्पाउन, खानेपानीको धारा र शौचालयजस्ता समस्या रहेका छन । उहाँले भन्नुभयो, “कारागार एउटा समस्याको रूपमा छन्, बन्दीगृह वा कारागार सुधारगृहको रूपमा हुनुपर्ने र यातनागृहको रूपमा रूपमा रहेको छ, विशेषगरी कैदीबन्दीको जुन सङ्ख्याको चाप छ, त्यसअनुसारको कारागारको व्यवस्था हुन सकेको छैन ।” 

    सांसद अछामीले ३३ वटा कारागारको पर्खाल भत्किएको अवस्थामा रहेको, २८ वटा कारागारको आफ्नै भए पनि अत्यन्त जीर्ण अवस्थामा रहेको र पाँच वटा कारागारको आफ्नै जग्गामा भए पनि भवन जीर्ण अवस्थामा रहेको तथ्य प्रस्तुत गर्नुभयो । उहाँले १० वटा कारागार भौतिक रूपमा अत्यन्त जीर्ण अवस्थामा रहेको पनि बताउनुभयो । 
    
    नेकपा (एमाले) का सांसद तुलसाकुमारी दाहालले सरकारले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुन बनाउन खोजेको भन्दै सो विधेयकलाई तत्काल रोक्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “कानुन मन्त्रालयले सर्वसाधारणको राय माग गर्दै २०८२ साल वैशाख ७ गते प्रकाशित गरेको सूचना मुलुकी अपराध संहिता २०७४ को संशोधनमा भाषा घुमाएर बहुविवाह गर्न पाउने व्यवस्था गरिएको छ, यसले समाजमा नकारात्मक असर पर्ने भएकाले तत्काल हटाउनुपर्छ ।” 

    सांसद दाहालले सरकारले महिला हिंसाविरुद्ध एकीकृत ऐनको लागि पहल गर्नुपर्ने माग गर्दै महिला हिंसासम्बन्धी भएका ऐन/कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा जरा गाडेर बसेको छाउपडी प्रथाले धेरै बालबालिका र महिलाको मृत्यु समेत भएको भन्दै छाउपडी प्रथाको पूर्ण रूपमा अन्त्य गर्नुपर्ने पनि माग गर्नुभयो ।