काठमाडौँ, २७ साउन: राष्ट्रियसभामा सांसदहरूले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी मिडिया काउन्सिल विधेयक ल्याउन नहुने बताउनुभएको छ ।
सभाको आजको बैठकमा सांसद सावित्री मल्लले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्नेगरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुने गरी अघि बढाउनुपर्ने माग गर्नुभयो । उहाँले भ्रष्टाचार, बलात्कार, मानव बेचबिखनजस्ता अपराध गर्ने अपराधिलाई आममाफी दिने गरी मुलुकी अपराध संहिता संशोधन गर्न लागेकाले यो प्रक्रिया तत्काल रोक्नुपर्ने बताउनुभयो ।
सांसद मल्लले बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्न लागिएको प्रक्रियता पनि तत्काल रोक्नुपर्ने माग गर्नुभयो । उहाँले निजामती कर्मचारी सेवा विधेयकमा ‘कुलिङ पिरियड’ हटाउन भएको छलछाम छानबिन गर्न गठित संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग पनि गर्नुभयो ।
सांसद विष्णुबहादुर विश्कर्माले देशैभरि जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “यही साउन २२ गते राति दैलेख जिल्लास्थित चामुण्डाविन्द्रसैनी नगरपालिका–८ का २२ वर्षीय गोविन्द शाही र २५ वर्षीय खगी भण्डारीले सोही निवासी १२ वर्षीया एक दलित बालिकालाई ढुङ्गाले हिर्काएर, लडाएर, सामूहिक बलात्कार गरेको घटना बाहिर आएको छ । यस्तो अपराध गर्ने अपराधीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।”
सांसद विश्वकर्माले साउन २५ गते डडेलधुरा जिल्लाको परशुराम नगरपालिका–८ का जननिर्वाचित वडाध्यक्ष दिनेशप्रसाद जोशीले सोही गाउँ निवासी लोकेन्द्र लोहारलाई बाटोमा हिँडिरहेको अवस्थामा कुटपिट गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । हाल पीडितले इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गर्न जाँदा सुनुवाइ नभएको उहाँको भनाइ छ ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले उखु किसानको भुक्तानी गर्न सरकारसँग माग गर्नुभयो । उहाँले चाडपर्व आउन लागेकाले बजारमा हुने गलत कार्य रोक्न र सडकमा सहज आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।