साउन २७, २०८२ मंगलबार

दमौली (तनहुँ), २७ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताउनुभएको छ । 

सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो । 

सभापति देउवाले भन्नुभयो, “पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ । उच्च मूल्याङ्कन गर्छ ।” उहाँले विसं २००७ देखि नै लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “त्यस्तै बलिदान दिनेमध्ये सहिद कल्याण खनाल हुनुहुन्थ्यो ।  देशका लागि जीवन बलिदानी दिने साथीहरूले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ । उहाँहरूले देखाएको बाटोमा अगाडि बढेमात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ ।”

सभापति देउवाले सहिद कल्याण खनाललाई व्यक्तिगत रूपमा चिनेको बताउँदै तत्कालीन अवस्थामा उहाँले आफूलाई धेरै सहयोग गरेको स्मरण गर्नुभयो । 

सो अवसरमा सभापति देउवाले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्धकदको सालिकको अनावरण गर्नुभएको थियो ।