कर्णाली, २७ साउन : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट मैले ल्याएको हो भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
सुर्खेतपश्चिममा पर्ने चौकुने गाउँपालिका–६ स्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आउने विकास बजेटलाई मैले ल्याएको हो भनेर दाबी गर्ने बेथिति मौलाउँदै गएको बताउनुभयो ।
गाउँमा आउने बजेट हामी सबै जनताकै करबाट आउने भएकाले कसैले व्यक्तिगत दाबी गर्न नहुने मुख्यमन्त्री कँडेलका भनाइ थियो । “सङ्घीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो । कसैको व्यक्तिगत सम्पति होइन,” उहाँले भन्नुभयो, “मैले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गर्ने र जनताले पत्याउने स्थिति बन्नुहुँदैन ।”
उहाँका अनुसार योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी हुँदै आएको आएको छ । हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके नागरिकका निम्ति कार्यान्वयन भएका सबै आयोजना पनि दिगो हुने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री कँडेलले सोही क्षेत्रको निर्माणाधीन लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनकाँडा सडकको निरीक्षण गर्नुभएको थियो । उहाँले समयमै सडक निर्माणकार्य पूरा गर्न सम्बन्धित निर्माण व्यवसायीलाई र सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।