साउन २७, २०८२ मंगलबार

पाटन (ललितपुर), २७ साउनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्ने लक्ष्यसहित सरकार लागिरहेको बताउनुभएको छ । 

    नेपाल युथ फाउन्डेसन र ओल्गापुरी भोकेसनल स्कुलले अन्तरराष्ट्रिय युवा दिवस २०२५ का अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले दक्षता र योग्यताको आधारमा रोजगार प्रदान गर्ने नीतिगत व्यवस्थामा जोड दिइरहेको बताउनुभयो । 

मन्त्री भण्डारीले युवा वर्गलाई देशमै टिकाउन रोजगारसहितको आर्थिक समृद्धि अनिवार्य भएको बताउनुभयो । “हरेक वर्ष पाँच लाख श्रमिक बजारमा प्रवेश गर्छन्, तीमध्ये एक लाखलाई मात्रै स्वदेशमै रोजगार तथा उद्यमशीलतामा समाहित गर्न सकिरहेका छौँ । बाध्यतापूर्ण वैदेशिक रोजगारको कारणले पछाडि परेको आन्तरिक रोजगारलाई प्रोत्साहन गर्दै अबको १० वर्षमा बाध्यतामूलक वैदेशिक रोजगारी अन्त्य गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो । 

    तालिम र सीपबिना वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउने स्पष्ट पार्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र पुँजीलाई स्वदेशमै प्रयोग गर्न सरकारले प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले व्यावसायिक सीप विकास प्रशिक्षण प्रतिष्ठान र ओल्गापुरी भोकेसनल स्कुलबीच सीपमूलक तालिमका लागि समझदारी हुने बताउनुभयो ।