साउन २७, २०८२ मंगलबार

राजविराज (सप्तरी), २७ साउन: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको आज अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
    
जिल्लाको राजविराज नगरपालिका–९ स्थित मलेठ र रुपनी गाउँपालिकाको सिमानामा रहेको औद्योगिक क्षेत्रको अवलोकन गर्दै उहाँले त्यसको अवस्थाबारे जानकारी लिनुभयो । 

विसं  २०४४ मा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग सञ्चालनमा रहेका छन् भने थप उद्योग स्थापना तयारी भइरहेको जानकारी दिइयो । 

मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा ढल निकास, खानेपानीलगायत आधारभूत पूर्वाधारका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ८० लाख विनियोजन गरिसकेको बताउनुभयो । उहाँले यहाँको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिनुभयो । 

मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको प्रचुर सम्भावना रहेकाले यसका लागि प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “ठूला उद्योग स्थापना भए रोजगारीका अवसर सिर्जना हुनुका साथै राजस्व सङ्कलनमा वृद्धि भई स्थानीय, प्रदेश तथा राष्ट्रिय आर्थिक विकासमा टेवा पुग्नेछ”, उहाँले भन्नुभयो,“यसैकारण प्रदेश सरकार यहाँको समग्र विकासका लागि प्रतिबद्ध छ । उद्योगपतिलाई यहाँ लगानी गर्न निरन्तर आग्रह गरिरहेको छौँ ।”

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कायमुकायम प्रमुख मनिषकुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहसमक्ष औद्योगिक क्षेत्रको वर्तमान अवस्था र विद्यमान समस्याबारे जानकारी गराउनुभएको थियो ।