साउन २८, २०८२ बुधबार

लम्की (कैलाली), २८ साउन : वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएको वादी समुदायका घर डुबानमा पर्दा विचल्ली भएको छ । वादीका १२ घर डुबानमा पर्दा घरपरिवारका सदस्यहरु आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन् । घरमा पानी पसे पनि कतिपय परिवार आफ्नै घरमा बसेका छन् । 

सो क्षेत्रमा ७१ परिवार वादीका छन् । घरमा पानि पसेपछि खाना पकाउन र शौच गर्न समस्या भइरहेको गुनासो उनीहरुको छ । काठको सानो कच्चीघरमा बस्दै आउनुभएकी ३३ वर्षीया रीमादेवी वादी डुबानकै कारण घरमा एक हप्तादेखि चुलो बाल्न नसकेको बताउनुहुन्छ । 

     उहाँले भन्नुभयो, “घर वरिपरिको जमेको पानीमा सर्प हिँडिरहन्छन्, छोरालाई एक्लै घरमा छोडर कतै काममा पनि जान सकेकी छैन ।” उहाँका श्रीमान्को केही महिनाअघि नजिकै रहेको रानीजमरा कुलरिया सिँचाइ आयोजनको नहरमा डुबेर मृत्यु भएको थियो । 

     श्रीमान्को निधनपछि रीमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “नगरमा डुबेर श्रीमान्को मृत्युपछि अहिले आफू सहाराविहीन छु, तीन छोराछोरी पालेर बसेकी छु ।” 
     वर्षा भएपछि घर डुबानमा पर्ने र छाना पनि चुहिने समस्याले थप समस्या झेल्नु परेको अर्की महिला शान्ता वादीले बताउनुभयो । उहाँको घर परिसर वर्षाको पानी जम्दा भान्सा पनि पूरै पानी भरिएको छ । “हजुर साह्रै दुःख पाइयो, न खाना पकाउने ठाउँछ, न शौच गर्ने ठाउँ । कतिखेर साना बच्चा पानी डुब्ने हुन भन्ने चिन्ताले सताइरहन्छ ।” उहाँले भन्नुभयो ।

सरकारले बनाइदिएको कच्ची घरमा बस्दै आएका आफूहरुलाई यतिबेला घर डुबानमा पर्दा समस्या हेरिदिने कोही नपाइएको अर्की महिला गजगी वादीको गुनासो छ । 
 
“घर निर्माण गरिदिएर सरकारले राम्रो काम गरेको छ, तर पानी निकास हुने व्यवस्था नगर्दा डुबानको समस्या झेल्नुपर्यो, घरभित्रको खाद्यान्न र लत्ताकपडा भिजेर क्षति पुग्ने गरेको छ  ।” घर डुबानमा परेपछि विपन्न वादी समुदायका कुनै पनि व्यक्ति केही दिनदेखि दैनिक मजदुरीमा जान सकेका छैनन् । मजदुरीमा जान नपाएर आफूहरुलाई बालबच्चाको बिहान साँझको छाक टार्न समस्या भएको अर्का अर्जुन वादीले भन्नुभयो ।

     पूर्वपश्चिम राजमार्ग छेउमै रहेको यो बस्ती वर्षायामसँगै बर्र्सेेनि डुबानमा पर्ने गरेको छ । बस्तीमा पानी निकासको व्यवस्था गरिए पनि त्यसले काम नगरेको उनीहरुको भनाइ छ । बस्तीमा रहेका रुख यसै वर्ष हटाइएपछि हावाहुरीको समयमा हुनसक्ने जोखिमको त्रासबाट मुक्ति पाइए पनि पानी निकासको व्यवस्था गरिएको छैन । उनीहरुले डुबानको समस्या समाधानका लागि सरकारलाई अनुरोध गरेका छन् ।
  
रमा वादीले भन्नुभयो, “यो वर्षमा मात्र यसै बस्तीका दुई बालबालिकासहित चार जनाले नहरमा डुबेर ज्यान गएको छ, वर्षाले घर डुबानमा पर्ने  र नजिकै रानीजमरा कुरिया सिँचाइ आयोजनाको नहरमा मान्छे डुबेर मर्ने, बस्तीका लागि यो जोखिम देखियो ।” 

     विसं २०६४देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट यो क्षेत्रमा बसाइँसराइ गरेका वादी समुदायका ७१ परिवारको बसोबास छ । भूमिहीन वादीका परिवारलाई सरकारले सोही क्षेत्रमा जग्गा उपलब्ध गराएर १४३ वटा सुरक्षित आवास(घर) निर्माण गरिदिएको छ । उक्त बस्तीका ३३ घरपरिवार मात्रै सुरक्षित आवास (घर) निर्माण गर्न बाँकी रहेको जनाइएको छ ।