साउन २८, २०८२ बुधबार

काठमाडौँ, २८ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसद रूपा सोशी चौधरीले कानुनतः मरिसकेकी गोमतीदेवी गिरी न्यायको खोजीमा हिँडेकी जनाउँदै उहाँलाई न्याय दिएर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

    बैठकको आकस्मिक समयमा उहाँले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–४ की गोमतीका श्रीमान्ले छ वर्षअघि निजको मृत्युदर्ता गरेकाले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । छ वर्षपछि मात्र गोमतीदेवीले आफू मरिसकेको थाहा पाएकी थिइन् ।

    “स्थानीय तहमा मुचुल्काबिना मृत्युदर्ता गर्न मिल्छ कि मिल्दैन?, अज्ञानताले भएको हो भने सच्याउनुपर्छ, नियत वा मिलेमतोमा गरिएको हो भने दोषीलाई कारबाही गर्नुपर्छ”, सांसद चौधरीले भन्नुभयो । जीवित पीडित गोमतीलाई न्याय दिन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद प्रभु साहले कारागार किन सुरक्षित नभएको प्रश्न गर्दै मङ्गलबार वीरगञ्ज कारागारमा समयमा उपचार नपाएर कैदी राहुल साहको निधन भएको बताउनुभयो । कैलाली कारागारमा केही दिनअघि भरत चौधरीको मृत्यु भएको घटनाको जिम्मा कसले लिने भनी उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद साहले आर्थिक अनियमितता, लेनदेनलगायत कारणले कारागारमा समस्या हुने गरेको बताउँदै यसमा सरकारको लापरबाहीले यस्तो घटना भएको आरोप लगाउनुभयो । जेललाई सुधार गृहमा लैजाने अभ्यास नभएकाले समस्या आउन थालेको उहाँको भनाइ छ ।

    सांसद अम्बरबहादुर थापाले सरकारले भन्ने गरेको सुशासन कैलाली कारागारको घटनाले देखाएको बताउनुभयो । सरकारको सुरक्षा घेराभित्र रहेका कैदीकै सुरक्षा हुन सक्दैन भने अन्त कता सुरक्षा हुन्छ ? उहाँले प्रश्न गर्नुभयो । एक सय ५० कैदी राख्ने क्षमता भएको कारागारमा किन तीन गुणाभन्दा बन्दी राखिएको भन्दै उहाँले कैदीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    सांसद हितराज पाण्डेले पाँच जना सांसदले बोलिसक्दा पनि संसद्भित्रको टेलिभिजनले काम नगरेकाले देखिने गरी व्यवस्था गराउन सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।