साउन २८, २०८२ बुधबार

नेपालगञ्ज, २८ साउनः बाँके जिल्लामा विभिन्न प्रजातिका काठको उत्पादन बढ्दै गएको छ । जिल्लामा रहेका सामुदायिक वनमध्ये ३१ वनमा सम्वर्द्धन प्रणाली लागू भएपछि काठको उत्पादन बढ्दै गएको जिल्ला वन डिभिजन कार्यालयका प्रमुख शङ्कर गुप्ताले जानकारी दिनुभयो । 

    “वनको दिगो व्यवस्थापनले काठ उत्पादन बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “अघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्युफिट काठ उत्पादन भएकामा गत आवमा चार लाख पाँच हजार ९८ दशमलव शून्य पाँच क्युफिट उत्पादन भएको हो ।”

    जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आवमा चार लाख पाँच हजार ९८ दशमलव शून्य पाँच क्युफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

    सम्वर्द्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ३२ हजार ८०० दशमलव १३ क्युफिट, सम्वर्द्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ७४ हजार ४१७ दशमलव ८४ क्युफिट र एउटा मात्र सम्वर्द्धन प्रणाली लागू भएको राष्ट्रिय वन शम्शेरगञ्ज माथेवास चक्लाबाट ८७ हजार ६५३ दशमलव ६५ क्युफिट काठ उत्पादन भएको कार्यालयका वन अधिकृत बाबुराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्लामा भुवर भवानी नामक चक्ला वन समेत थप भएको छ । 

    विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट पनि अघिल्लो आवको तुलनामा गत आवमा काठ उत्पादन बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न सामुदायिक वन सम्वर्द्धन प्रणाली लागू भएका र नभएकाबाट विभिन्न जातका ८६५ दशमलव ६५ चट्टा, राष्ट्रिय वनबाट २९९ दशमलव ७१ चट्टा र निजी आवादी वनबाट १४५२ दशमलव ९६ चट्टा उत्पादन भएको छ ।

    सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसाैँ, हर्रो, बर्रो, कर्मालगायत प्रजातिका काठ तथा दाउरा उत्पादन भएका जनाउँदै पोखरेल निजी आवादी वनबाट मसला, टिक सिसौँ, सिमल, खयरलगायत प्रजातिका काठ तथा दाउरा उत्पादन भएका बताउनुभयो । 

    उहाँका अनुसार काठदाउरा बिक्रीबाट गत आवमा रु ११ करोड ९५ लाख ४१ हजार ५६८ राजस्व सङ्कलन भएको छ भने रु ११ करोड ४७ लाख ६८ हजार ४८८ विभिन्न सामुदायिक वनहरूले आम्दानी गरेका छन् । 

    विगत तीन वर्षमा जिल्लामा लगातार काठ दाउरा उत्पादनमा वृद्धि हुँदै आएको तथ्याङ्क छ । आव २०७९/८० मा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्युफिट काठ उत्पादन भएको थियो ।