बाजुरा, २९ साउन : जिल्लाको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ ।
बुधबार रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताउनुभयो । उक्त खोलाको एउटा झोलुङ्गे पुलसहित केही घरहरु बगाएको उहाँले बताउनुभयो ।
हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अहिलेसम्म दश वटा घरमा क्षति भएको छ । क्षतिको मूल्याङ्कन गर्न पालिकाबाट टोली परिचालन भएको छ । प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीबाट मानवीय क्षति भएको छैन । बाढीले उक्त क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले वर्षा जारी रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।