प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री शर्माले आर्थिक अध्यादेशसँगै राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन अध्यादेश, २०७८ समेत प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक भदौ २३ गतेदेखि सुरु भएको थियो। उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो। उसको अवरोधका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा टेबुल गरेको थियो।
शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘शपथसम्बन्धी अध्यादेश २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले त्यसलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रम देउवाले रेल्वे अध्यादेश २०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नागरिकता अध्यादेश पनि आजै प्रस्तुत गरिने
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्तावलाई अस्वीकार गर्न जनमोर्चाकी सांसद दुर्गा पौडेलले सूचना दर्ता गराएकी छन्।
गृहमन्त्री खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ।
संसद सचिवालयका अनुसार बैठकमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पारित गर्ने प्रस्ताव पेस गर्नेछन् ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री ७८ पेस गर्ने बैठकको सम्भावित कार्यसूची रहेको छ।
बैठकमा दिवंगत पूर्वसाँसदद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेबी टुहुरे) प्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । स्व। शेरचन २०७० सालको संविधानसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट समानुपातिकतर्फबाट निर्वाचित सदस्य थिए। उनका ६८ वर्षको उमेरमा भदौ २ गते निधन भएको थियो।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जेबी टुहुरेको ७८ वर्षको उमेरमा भदौ १० गते निधन भएको थियो।
यसैबीच शुक्रबार नै राष्ट्रियसभाको बैठक बोलाइएको छ। दिउँसो १ बजेको लागि तय गरिएको बैठकमा गृहमन्त्री खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले दुइटा प्रतिवेदन प्रस्तुत गर्नेछन्। उनले लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समिति अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछन्।