साउन ३०, २०८२ शुक्रबार

सियोल, ३० साउन (एएफपी) : दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ जनाउँदै दुई कोरियाबीच ‘सैन्य विश्वास’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    यो अभिव्यक्ति उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने कुनै चासो नभएको भनेको एक दिनपछि आएको हो ।

    जुन महिनामा निर्वाचित भएका राष्ट्रपति लीले उत्तर कोरियासँग सम्पर्क पुनःस्थापना र बिना शर्त वार्ताको प्रस्ताव गर्दै आउनुभएको छ । यसलाई उहाँका कट्टरपन्थी पूर्ववर्तीहरूको नीतिबाट पूर्णतया विपरीत मानिन्छ ।

    जापानी शासनबाट कोरियाको मुक्ति भएको दिन अगस्ट १५ को अवसरमा आयोजित समारोहमा बोल्दै राष्ट्रपतिले लीले भन्नुभयो, “दक्षिण कोरियाली सरकारले उत्तर कोरियासँगको तनाव उल्लेखनीय रूपमा घटाउने र विश्वास पुनःस्थापना गर्ने उपायहरू निरन्तर खोज्नेछ ।”

    सियोलको राष्ट्रिय एकीकरण शिक्षा संस्थानका अनुसार यो वार्षिकोत्सव उत्तर कोरिया र दक्षिण कोरियामा एकैसाथ मनाइने एकमात्र सार्वजनिक बिदा हो ।

    राष्ट्रपतिले भन्नुभयो, “हामी उत्तर कोरियाको वर्तमान प्रणालीप्रति सम्मान जनाउँछौँ र दक्षिण कोरियाले कुनै पनि शत्रुतापूर्ण गतिविधिमा संलग्न हुने मनसाय राख्दैन ।”

    उहाँको अभिव्यक्तिमा उत्तर कोरियाले पनि विश्वास निर्माण र वार्ता पुनः सुरु गर्ने दक्षिण कोरियाको प्रयासलाई सकारात्मक रूपमा लिनेछ भन्ने आशा प्रकट गरिएको थियो ।

    लीको अभिव्यक्ति उत्तर कोरियाली नेता किम जोङ उनले बहिनी किम यो जोङमार्फत दिनुभएको कडा प्रतिक्रियापछि आएको हो । जोङले उत्तर कोरियाको दक्षिण कोरियासँग ‘सम्बन्ध सुधार गर्ने कुनै इच्छा छैन’ भन्नुभएको थियो । साथै उहाँले उत्तर कोरियाले सीमामा रहेका प्रचार लाउडस्पिकरहरू हटाइरहेको भन्ने रिपोर्टलाई अस्वीकार गर्नुभएको थियो ।

    यसअघि, दक्षिण कोरियाली सेनाले जुन महिनामा दुवै देशले सीमावर्ती क्षेत्रमा प्रचार प्रसारण रोकेको जनाएको थियो । गत हप्ता सेनाले उत्तर कोरियाली सेनाले सीमामा लाउडस्पिकरहरू हटाइरहेको देखिएको पनि बताएको थियो ।