गाईघाट (उदयपुर), १ भदौः सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित स्कुस दैनिक रु १० हजारको हाराहारीमा कारोबार हुन थालेको छ ।
खाँबुका स्कुस उत्पादक किसान टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि यहाँ उत्पादित स्कुस गाईघाट बजार क्षेत्रमा बिक्री गर्न सुरु भएको हो ।
खाँबुका अर्का किसान देवराज खत्रीले पनि अहिले गाईघाट, देउरी, बगाहासहित सिरहा क्षेत्रबाट स्कुस खरिद गर्न व्यापारी आउने गरेकाले दैनिक रु १० हजारभन्दा बढीको बिक्री सुरु गरेको बताउनुभयो । साउन अन्तिम सातासम्ममा दैनिक रु १० देखि २० हजारसम्ममा स्कुस गाउँघरबाट बिक्री हुन थालेको उहाँले जानकारी दिनुभयो ।
गाईघाट सब्जी बजारका व्यापारी कुमारी कटुवालका अनुसार अहिले पहाडी क्षेत्रमा स्कुस प्रतिकिलो रु ३० देखि रु ४० पर्ने गरेको जनाउँदै व्यापारीले रु ६० प्रतिकिलोका दरले बिक्री गर्दै आएका बताउनुभयो ।
अहिले गाईघाटमा जिल्ला बाहिरबाट आयातित सब्जी दोब्बर महँगोमा व्यापारीले बिक्री गर्ने गरेकामा यहाँकै ताजा र हरियो स्कुस उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् ।
गाईघाट बोक्सेकी उपभोक्ता सम्झना बस्नेतले भन्नुभयो, “व्यापारीले जिल्ला बाहिरबाट सडेगलेका तथा विषादीयुक्त सब्जी सस्तोमा खरिद गरेर महँगोमा बिक्री गरिरहेका बेला जिल्लाकै पहाडी क्षेत्रको अग्र्यानिक स्कुस किनेर खान पाइएका छौँ । यसले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन भने खर्च पनि कम भएको छ ।”
उपभोक्ताले पनि जिल्लाका साउने, खाँबु र रौता पहाडी क्षेत्रमा उत्पादन भएको स्कुस बढी मन पराउने भएकाले बजारमा यसको माग बढी हुने किसान बताउँछन् ।
प्रत्येक वर्ष यस क्षेत्रमा उत्पादित स्कुस साउन तेस्रो सातादेखि बिक्री सुरु भएर भदौमा सबैभन्दा बढी खपत हुने व्यापारी प्रेम मगरले जानकारी दिनुभयो । गत वर्ष भदौभरि आफूले लाखौँको स्कुस बिक्री गरेको बताउँदै उहाँले यसपटक पनि सोही तुलनामा बिक्री हुने विश्वास व्यक्त गर्नुभयो ।
त्रियुगा नगरपालिकाको पहाडी क्षेत्रको साउने, खाँबु, डहर र रौता क्षेत्रको रौता, मलबासे, आपटार क्षेत्रमा उत्पादन गरिएका स्कुस बर्सेनि साउन, भदौ र असोजमा सदरमुकाम गाईघाट बजारसहित जिल्ला बाहिर सप्तरीको राजबिराज, सिरहाको लाहानसम्म बिक्री हुने गरेको स्कुस उत्पादक किसानहरू बताउँछन् । एक सिजनमा कसैकसैले रु ५० हजारदेखि रु तीन लाखसम्मको स्कुस बिक्री गर्ने गरेको किसानहरू बताउँछन् ।