भोजपुर, २ भदौ : सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका किसानको पेसा नै सङ्कटमा परेको हो ।
चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडापालन पेसा सङ्कटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताउनुभयो । उहाँका अनुसार, दुई वर्षको अवधिमा करिब २० जनाले भेडापालन व्यवसाय छाडेका छन् ।
कृषक कठेतले भन्नुभयो, “सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्छ । चरण क्षेत्रको अभावका कारण धेरैले व्यवसाय छाड्दै गएका छन् । चरनमा छाडा कुकुरले भेडा मारी दिँदा नोक्सानी भोग्नुपरेको छ ।”
मैयुङ क्षेत्रमा भोजपुर र खोटाङका १८ देखि २० जना मात्र अहिले व्यावसायिक रुपमा भेडापालन गरिरहेका छन् । राज्यले संरक्षण नगरे यो पेसा सङ्कटमा पर्ने कठेतको भनाइ छ । मैयुङ क्षेत्रमा पर्ने सात वटा सामुदायिक वनमा शुल्क तिर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । एउटा वनमा चराएवापत प्रति भेडीगोठ रु पाँच सयदेखि रु पाँच हजारसम्म शुल्क तिर्नुपर्छ । करिब तीन महिना मात्र सो क्षेत्रमा भेडा चराए एक वर्षको शुल्क तिर्नुपर्ने अवस्था छ । कृषक कठेतले भन्नुभयो, “वनका आआफ्ना नियम छन् । कसैले प्रति भेडा रु ५० लिन्छन्, कसैले एकमुष्ट लिने गरेका छन् ।”
छाडा कुकुर पनि भेडापालक किसानका लागि ठूलो चुनौती बनेको अर्का किसान शेरबहादुर कठेतले बताउनुभयो । गत पुसदेखि हालसम्म कुकुरले यहाँका भेडी चोकका करिब एक सयको हाराहारीमा भेडा मारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुकुरले छिनभरमा भेडा मारिदिन्छ । स्थानीय सरकारले कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ ।”
भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिनुका साथै ऊनबाट बन्ने राडी, लुकुनीलगायत बिक्री गर्दै आएका छन् । एक सय ओटासम्म भेडा भए वार्षिक रु चार लाखसम्म आम्दानी हुने कृषकको भनाइ छ ।