काभ्रेपलाञ्चोक, २ भदौ : ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन (लापसे) परीक्षण अभियान सञ्चालन गरेको छ । परीक्षण अभियानका क्रममा लापसे गरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत उपत्यका प्रवेश नाका काभ्रेपलाञ्चोकको साँगालगायत जिल्लाका विभिन्न स्थानमा गरेको परीक्षणमा लापसे गरेर सवारीसाधन चलाउने २० सवारी चालक पक्राउ परेका छन् । एक सय एक चालकको परीक्षण गरिएकामा उक्त सङ्ख्याका चालक पक्राउमा परेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुनिल धाँजूका अनुसार हालसम्म साउन महिनामा तीन स्थानमा गरिएको परीक्षणमा २० प्रतिशत चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । परीक्षणमा पक्राउ पर्नेमध्ये अधिकांश काठमाडौँ–धुलिखेल रुटमा सञ्चालित महानगर, मयूर तथा काभ्रेपलाञ्चोक–पुण्यमाता यातायात समितिका चालक रहेको कार्यालयले जनाएको छ । सचेतनामूलक रूपमा गरिएको लापसे परीक्षणलाई निरन्तरता दिइने धाँजूले बताउनुभयो ।
सडक अनुशासन, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने अभियानस्वरूप चालकको लागू पदार्थ सेवन (लापसे) चेक गरिएको जनाइएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो । सो परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपा, बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्य गरिएको छ ।