भदौ २, २०८२ सोमबार

नारायण ढुङ्गाना
काठमाडौँ, २ भदौ  :  सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गर्ने निर्णय गरेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समिति बैठक बसेको ऐतिहासिक स्थानमा बन्दै गरेको ‘चुनवाङ शान्ति सङ्ग्रहालय’ का लागि काठमाडौँमा कला सिर्जना धमाधम भइरहेको छ । 

चित्रकला करिब–करिब तयार भएका छन् भने मूर्तिकला निर्माणाधीन रहेका छन् । त्यहाँ राख्नका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग ३० देखि ३५ सम्म चित्रकला र ४० भन्दा बढी मूर्तिकला निर्माणका लागि भएको सम्झौताअनुसार अहिले काठमाडौँमा कला सिर्जनाको काम जारी छ । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वप्रमुख पूर्णबहादुर घर्तीले चुनवाङस्थित बैठक बसेको घर र माओवादी अध्यक्ष बसेको घर संरक्षण गरी सोही ऐतिहासिक निर्णय भएको स्थानलाई शान्ति सङ्ग्रहालय बनाउने गरी काम भइरहेको बताउनुभयो । 

    त्यसका लागि सशत्र द्वन्द्वका बेला भएका घटनाक्रम, बैठक, त्यसबेलाका माओवादीका गतिविधि समेट्ने गरी चित्र र मूर्ति निर्माण भइरहेको उहाँले बताउनुभयो । एक हजारभन्दा बढी तत्कालीन अवस्थाका तस्बिरसमेत उक्त सङ्ग्रहालयमा रहने छन् । छुट्टै नयाँ भवन बनिरहेको छ ।

    विसं २०६२ असोजमा रुकुमपूर्व ¬(हालको भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङमा बसेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समिति बैठकले मुुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न संसदीय राजनीतिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको थियो । 

    त्यसैको जगमा तत्कालीन संसदीय राजनीतिक दल र माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारी भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि संसदीय राजीतिक दल रुष्ट रहेका बेला त्यसैलाई उपयोग गर्ने गरी माओवादीको उक्त बैठक बसेको सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वप्रमुख घर्ती बताउनुहुन्छ । 

    घर्ती उक्त बैठककमा सूचना संकलन तथा बैठकका विषय टिपोर्ट गर्ने जिम्मेवारीमा रहनुभएको थियो । त्यसैले सङ्ग्रहालय स्थापनाका लागि उहाँ सक्रिय भइरहनुभएको छ । 

    उहाँले हालैमात्र सङ्ग्रहालयका लागि निर्मित चित्रकला तथा मूर्तिकला अवलोकन गर्नुभएको छ । उहाँले अवलोकनपछि भन्नुभयो, “त्यो बेलाका दृष्य जस्तो हुन्थ्यो, त्यस्तै चित्र, मूर्ति सिर्जना होस् भन्ने चाहना हाम्रो छ, कुनै बढाइचढाइ गर्नुपर्ने जरुरी छैन, हेर्दा जस्ताको  तस्तै देखियोस् ।” चित्र अवलोकन पछि आवश्यक परिमार्जनका लागि  उहाँले कलाकारहरुलाई सुझाव दिनुभएको छ ।

    त्यही चुनवाङ बैठकले लिएको निर्णयले दुुई राजनीतिक शक्ति एक ठाउँमा उभिएका र त्यसैको बलमा २०६२÷२०६३ मा जनआन्दोलन भयो । त्यसपछि माओवादी शान्ति प्रक्रियामा आएको थियो । 

    “अहिलेसम्म जेजे उपलब्धि भए, संविधान जारी भयो, संघीय राज्य स्थापना भयो, समावेशी र समाजवाद उन्मुख संविधानको जग त्यही थियो र अहिले महिला, आदिवासी जनजाति दलित उत्पिडित वर्षहरुका लागि भएको ऐतिहासिक निर्णयको जग त्यही थियो”, घर्तीले भन्नुभयो ।

    लुम्बिनी प्रदेश सरकारले २०६९ सालमै चुनवाङ शान्ति संग्रहालय विकास समिति गठन आदेश जारी गरिसकेको छ । सोही आधारमा यहाँ बैठकस्थलको पुरानो भवन संरक्षण गरिएको छ भने नयाँ भवन बनिरहेको छ । 

    सरकार पक्ष र माओवादी पक्ष कसैको पनि जित हुने अवस्था नदेखिएको र तत्कालीन संसदीय शक्ति राजाबाट बिच्किएपछि यो संक्रमणकाललाई सदुपयोग गर्नुपर्छ भनेर नै चुनवाङ बैठकले ऐतिहासिक निर्णय गरेको उहाँले सम्झनुभयो ।

    उक्त शान्ति संग्रहालयमा राख्ने गरी कलाकारले माओवादीले हतियार बोकेर गाउँगाउँ हिँडेका, उनीहरुले सांस्कृतिक कार्यक्रम देखाएका र दोहोरो भीडन्त भएका, गाउँ समाजमा माओवादी लडाकुहरु घुम्दाका अवस्था तथा चुनवाङ बैठककै गतिविधिसमेत कलामा उतारेका छन् ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख तथा प्राज्ञ परिषद् सदस्य दिनेश्वर महतो त्यो ऐतिहासिकस्थललााई विश्व सामु नै चिनाउनुपर्छ भनेर स्थापना हुन लागेको शान्ति सङ्ग्रहालयमा प्रतिष्ठान जोडिन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाकारलाई स्थलगत रुपमै लगेर पनि कला सिर्जना गराउने सोच रहेको सुनाउनुभयो ।

    प्रतिषठनका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले देशका धेरै पालिकामा यस्ता संग्रहालय बन्ने क्रममा रहेको तर यो चुनवाङ सङ्ग्रहालय भने विशिष्ट पहिचान बोकेको बताउनुभयो । भूमे गाउँपालिकासँग सम्झौता भएर काम गर्न पाउनु प्रतिष्ठानका लागि महत्वपूर्ण भएको उहाँले बताउनुभयो । यसले आगामी दिनमा अन्तरराष्ट्रिय रुप लिने उहाँले विश्वास गर्नुभयो । 

    विशेष गरी उक्त बैठकले राजनीतिक फौजी गरी कार्यदिशा पास गरेको थियो । एउटा संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको नाराका आधारमा मिल्न सकिने जति शक्तिसँग मिलेर राजतन्त्र विरोधी आन्दोलनलाई व्यापक र सशक्त बनाउने थियो । यस्तै विद्रोहको कुनै सम्भावनालाई उपयोग गर्न वैचारिक, राजनीतिक र साङ्गठनिक तयारी बढाउने कार्यकर्ता तथा जनतालाई व्यापक फौजीकरणमा प्रयत्न गर्ने र जनमुक्ति सेनाको संरचनामा अर्को चार डिभिजन थप गर्ने बैठकले निर्णय गरेको थियो ।

    मुख्यतः तत्कालीन संसदीय राजनीतिक दलसँग १२ बुँदे सहमतिपछि पहिलो कार्यादेशअनुसार माओवादी शान्ति प्रक्रियामा आएको थियो । त्यसैको स्मरणमा यहाँ चुनवाङ शान्ति सङ्ग्रहालय बनाउन लागिएको हो ।