भदौ ४, २०८२ बुधबार

कर्णाली, ४ भदौः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ । 

    कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मुलुक सङ्घीयतामा गएसँगै कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासमात्र नभई नागरिकको जीवनस्तर माथि उठेको उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “पैसा हामीसँगै छ, टाढा जानुपर्दैन । इच्छाशक्तिले काम गरियो भने कर्णालीले मुलुकलाई केही दिन सक्ने सामथ्र्य राख्छ । अब सङ्घले केही दिएन भनेर गुनासो गर्नुपर्छ जस्तो लाग्दैन । हामीसँग भएको बजेट खर्च गर्ने क्षमता बढाऔँ ।” बजेट खर्च गर्न जिम्मेवार कर्मचारीलाई पुरस्कृत र त्यसमा लापरवाही गर्ने कर्मचारीलाई प्रदेश सरकारले दण्डित गर्ने साहस राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
 
    कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले कर्णालीवासीको सङ्घर्षबाट कान्छो भएर जन्मे पनि प्रदेशको नामकरणमा कर्णालीले जेठो रूपमा स्थापित गरेको बताउनुभयो । उहाँले सङ्घीयताको कार्यान्वयनपश्चात सबै वर्ग जाति, भेग, क्षेत्रको उत्थानमा सहयोग पुगेको जनाउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले सिंहदरबारबाटै शासन चलाउने राजनीति दलहरूको मनोवृत्तिका कारण कर्णालीको अपेक्षित विकास हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले स्थानीय तथा प्रदेश सरकार बलियो भएमात्र सङ्घीय व्यवस्था दिगो एवं बलियो हुने र जनताको जीवनस्तरमा पनि परिवर्तन आउने जिकिर गर्नुभयो । 

    नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली जन्माउने सहिदहरूको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई प्रदेश सरकारले आवश्यक सम्बोधन गर्नुपर्ने बताउनुभयो । सङ्घले कर्णालीप्रति हेर्ने दृष्टिकोण बदल्न र यहाँको नेतृत्वहरूको सोचमा सकरात्मकपन आउन सके विकासको लक्षित गन्तव्यमा पुग्न सकिने उहाँको भनाइ छ ।

    उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, जिल्ला समन्वय समितिका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुख, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।