भदौ ५, २०८२ बिहिबार

कञ्चनपुर, ५ भदौः शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ । युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

    कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ६० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ । उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ । आवश्यक पूँजीको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थासँग समन्वय कार्य गरिने उहाँले बताउनुभयो ।

    “प्रत्येक वडालाई स्थानीय सम्भावना र स्रोतअनुसार घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पठाउन पत्राचार गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “वडाबाट उद्योग छनोट भएपछि त्यही आधारमा कार्यक्रम अघि बढाइने बढाउँछौं ।”
 
    यसरी स्थापना हुने उद्योगमा मागको आधारमा अनुदान र प्रविधि सहयोग उपलब्ध गराइने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । चौधरीले भन्नुभयो, “यस कार्यबाट युवाले नगरभित्रै रोजगारी पाउनेछन् र व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान हुन्छ, यसले विदेश पलायन कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।”

    नगरपालिकाका अनुसार १२ वटै वडामा सम्भावना भए बमोजिम उद्योग स्थापना गरी युवालाई दीर्घकालीन रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ । कृषि, हस्तकला, पशुपालन, बेतबाँस, लघु उत्पादन र स्थानीय स्रोतमा आधारित उद्योगलाई प्राथमिकतामा राखिएको छ ।

    स्थानीय युवा चेतराम चौधरीले कार्यक्रम सञ्चालनले गाउँमै रोजगारी र विकासका अवसर ल्याउने विश्वास व्यक्त गर्नुभयो । “यस कार्यक्रमको माध्यमबाट स्थानीय स्तरमै आर्थिक सशक्तिकरण र उद्यमशीलता प्रवद्र्धनमा टेवा पुग्छ”, उहाँले भन्नुभयो, “कार्यक्रमलाई उद्देश्यअनुरुप सञ्चालन गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक छ ।”