भदौ ५, २०८२ बिहिबार

सिरहा, ५ भदौः सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण  सिरहा अन्तर्गतको गस्ती टोलीले भन्सार छलीका सामानसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

    बुधबार राति करिब साढे ९ बजे मिर्चैया नगरपालिका–९ घुर्मी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा सशस्त्र बेश क्याम्प मिर्चैयास्थित सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले स १ च १०४८ नम्बरको सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो ।

    गाडीमा बिलबिजक नभएको चिनी ४० बोरा, कविर सुर्ती २० बोरा र केराउ पाँच बोरासमेत गरी करिब रु तीन लाख २३ हजार मूल्य बराबरको सामान फेला परेको सशस्त्र प्रहरी नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो बोलेरो गाडीको मूल्य रु नौ लाख ५० हजार रहेको र सामानसहित जम्मा रु १२ लाख ७३ हजार बराबर रहेको छ । 

    साथै गाडी चालक उदयपुरको कटारी नगरपालिका–१३ मयाङखु बस्ने २१ वर्षीय सागर खत्रीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको सामान तथा गाडी भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।