भदौ ५, २०८२ बिहिबार

काठमाडौँ, ५ भदौः प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
 
सभाको आजको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको आद्यौगिक सम्पत्तिसम्बन्धी विधेयक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तुत गर्नुभएको पानी जहाजसम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
 
बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ६ गते शुक्रबार अपराह्न १ बजे बस्नेछ ।