कास्की, ५ भदौः नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने धारणा राख्नुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको ‘वैचारिक तथा राजनीतिक प्रशिक्षण’ कार्यक्रममा उहाँले सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त गरिनसकेका बताउनुभयो ।
“मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गका साथै समुदायको वास्तविक समस्या समाधान समाजवादमा मात्र सम्भव छ । समाजवादी क्रान्तिका लागि अबको तयारी गर्नुपर्दछ”, अध्यक्ष दाहालले भन्नुभयो । समाजवादीबीचमा एकता गरी आगामी निर्वाचनमा एकजुट भएर समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सम्भव भएसम्म समाजवादीहरूको एकता होस् भन्ने चाहना छ । समाजवादी जतिको एउटै केन्द्र बनाएर विशाल शक्ति बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । समाजवादी क्रान्तिको रणनीतिलाई नेपाली मौलिकता र नेपाली नेतृत्वमा नयाँ ढङ्गले अघि बढाउने उद्देश्य छ ।”
अध्यक्ष दाहालले हिजोका उपलब्धिलाई उल्टाउने प्रयास हुनसक्ने भन्दै त्यसका विरुद्ध लड्नका लागि नेताकार्यकर्ता उच्च मनोबल, वैचारिक स्पष्टताका साथ एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले स्थायी समिति बैठकको सर्कुलरअनुसार अघि बढ्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने उल्लेख गर्नुभयो ।
“पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारवाही गरिनेछ । स्थायी समितिको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो । पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई छैन”, अध्यक्ष दाहालले भन्नुभयो । आसन्न केन्द्रीय समिति बैठकपछि गाउँगाउँमा सङ्गठन निर्माण र विस्तारका लागि नेतालाई जिम्मा दिइने जानकारी दिनुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका फ्याक्सन इन्चार्ज रामदीप आचार्य, महासङ्घ गण्डकीका संयोजक रुद्र गौतमलगायत नेता तथा कार्यकर्ताले राजनीतिक परिर्वतनमा मजदुरको भूमिकाका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।