विराटनगर, ५ भदौः कोशी प्रदेशसभाको आजको बैठकमा दुई वटा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा सामाजिक विकास समिति र प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको हो ।
प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम १४३ बमोजिम सामाजिक विकास समितिको वाषिक प्रतिवेदन समितिका सभापति गयानन्द मण्डल र प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन समितिका सभापति होमबहादुर थापाले सदनमा वाचन गरेर सुनाउनुभयो ।
बैठकको विशेष समय नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट खिनु लङ्वा लिम्बूले हतारमा विधेयक ल्याउनुभन्दा सरकारले गहन छलफल गरी सहमति र समन्वयका आधारमा ल्याउनुपर्ने विचार राख्नुभयो ।
उहाँले पछिल्लो समयमा प्रदेश सरकारले विधेयकमाथि छलफल नगरी हतारमा पारित गर्दा दूरगामी असर पर्ने भन्दै विधेयकलाई परिपक्व तथा कार्यान्वयनयोग्य बनाउन छलफलको समयसीमा बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले नेपाली भूमिको रक्षा गर्न बलियो भएर प्रस्तुत हुनुपर्ने धारणा राख्दै लिपुलेकबाट भारत र चीनको व्यापारका लागि नाका खोल्ने विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।
आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, लखीकुमारी गणेश, सविना बजगाईं, तारादेवी ढकाल र मीना श्रेष्ठले समयसामयिक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाउनुभएको थियो ।