भदौ ५, २०८२ बिहिबार

बैङ्कक, ५ भदौ (एएफपी) : थाइल्यान्डकी निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले कम्बोडियासँगको सीमा विवाद व्यवस्थापन गर्ने क्रममा पदबाट हटाउन माग गरिएको मुद्दामा बिहीबार अदालतमा बयान दिनुभएको छ ।

    विवादास्पद तर प्रभावशाली अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेटोङटार्नलाई कम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोनवार्तामा देशको पक्षमा दृढ रूपमा नउभिएको आरोप लगाइएको छ । उक्त अडियो अनलाइन चुहिएपछि उहाँमाथि आलोचना भएको हो ।

    गत वर्ष नैतिक कारण देखाउँदै उहाँका पूर्ववर्तीलाई प्रधानमन्त्री पदबाट हटाएको संवैधानिक अदालतले अर्को शुक्रबार पेटोङटार्नलाई पदबाट हटाउनुपर्ने कि नपर्ने भन्ने निर्णय गर्नेछ । अदालतले गत महिना उहाँलाई पदबाट निलम्बन गरिसकेको थियो र बिहीबार उहाँको ३९औँ जन्मदिनकै दिन मुद्दामा प्रश्नहरूको जवाफ दिन बोलाएको थियो ।

    कालो व्यापारिक सुटमा मुस्कुराउँदै उहाँले पत्रकारहरूलाई अभिवादन गर्नुभयो र आफ्नो शीर्ष सल्लाहकार प्रोमिन लर्टसुरिदेजसँग बैङ्ककको अदालतमा पुग्नुभएको थियो । उहाँले करिब डेढ घन्टासम्म न्यायाधीशहरूको प्रश्नको जवाफ दिनुभयो, तर अदालतले सुनुवाइका विवरण सार्वजनिक गर्न निषेधाज्ञा जारी गरेको छ ।

    यो मुद्दा कम्बोडियाका लामो समयका शासक तथा हालका प्रधानमन्त्रीका पिता हुन सेनसँगको जुनमा भएको फोनवार्तामा केन्द्रित छ । सो फोनवार्ता विवादित सीमा क्षेत्रमा भएको तत्कालीन तनावबारे थियो । फोनवार्तामा  पेटोङटार्नले हुन सेनलाई ‘काका’ भन्नुभएको थियो र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भन्नुभएको थियो । यसले थाइल्यान्डमा व्यापक प्रतिक्रिया निम्त्यायो ।

    रूढिवादी सांसदहरूले उहाँलाई कम्बोडियाको पक्ष लिएको र थाइल्यान्डको शक्तिशाली संस्था—सेनालाई कमजोर पारेको आरोप लगाए । फोनवार्ता चुहिएपछि पेटोङटार्नको सत्तारूढ गठबन्धनको मुख्य साझेदारले विरोध स्वरूप सरकार छोड्दा उहाँको सरकार लगभग ढल्ने स्थितिमा पुगेको थियो ।

    सिनेटरहरूको समूहले मन्त्रीहरूको आचरणमा ‘स्पष्ट अखण्डता’ र ‘नैतिक मापदण्ड’ आवश्यक पर्ने संवैधानिक प्रावधान उल्लङ्घन भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।

– रक्तपातपूर्ण द्वन्द्व –

    पेटोङटार्नलाई निलम्बन गरेपछि कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइले भन्नुभयो, “मलाई लाग्छ उहाँले राम्रो विश्वासका साथ काम गर्नुभएको थियो । देशको सुरक्षामा कुनै असर परेको थिएन, बरु थाइल्यान्डलाई द्वन्द्वबाट टाढा राख्ने उहाँको अभिप्राय थियो ।”

    तर यो घटनाले थाई–कम्बोडियन सम्बन्धलाई सङ्कटमा पुर्‍यायो । हुन सेनले सो फोनवार्ता पूर्ण रूपमा अनलाइनमा सार्वजनिक गरेपछि सीमा विवाद चर्कियो र दशकौँयता भएको सबैभन्दा घातक भिडन्तमा परिणत भयो । यस द्वन्द्वमा ४० भन्दा बढी मानिसको मृत्यु भयो र करिब तीन लाख मानिसले घरबार छोड्नुपर्‍यो ।

    यदि अदालतले उहाँको विपक्षमा फैसला गर्‍यो भने पेटोङटार्न आफ्ना पिता थाक्सिन र काकी यिङलकपछि प्रधानमन्त्री पद गुमाउने तेस्रो सिनावात्रा बन्नेहुनेछ । थाक्सिन र यिङलक दुवैलाई सैन्य कूमार्फत हटाइएको थियो ।

    थाई राजनीति दुई दशकदेखि नै रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्ग तथा सिनावात्रा परिवारबीचको सङ्घर्षले चलाइरहेको छ । अभिजात वर्गले सिनावात्रा परिवारलाई राज्यको पारम्परिक सामाजिक संरचनाको लागि खतरा ठान्छ ।

    यसैबीच ७६ वर्षीय थाक्सिनले शुक्रबार आफ्नै मुद्दाको फैसला सामना गर्दैहुनुहुन्छ । बैङ्ककको आपराधिक अदालतले उहाँको लेस–म्याजेस्टे मुद्दामा निर्णय सुनाउनेछ । उहाँले १० वर्षअघि दक्षिण कोरियाली मिडियासँग दिएको अन्तर्वार्तामा गरेको टिप्पणीका कारण दोषी ठहरिएमा १५ वर्षसम्म जेल सजाय पाउन सक्नुहुनेछ ।