भदौ ६, २०८२ शुक्रबार

चितवन, ६ भदौः  देशभरका एम्बुलेन्स चालकले आज एकै पटक ४० जिल्लामा ज्ञापनपत्र बुझाएका छन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको आह्वानमा चितवनसहित विभिन्न जिल्लामा ज्ञापनपत्र बुझाइएको हो । 

    संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य ऐन २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग सङ्घले अघि सारेको छ ।
 
    यसैगरी एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोसाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । सबै जिल्लामा एउटै माग राखेर प्रमुख जिल्ला अधिकारीमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाइएको हो ।
 
    यस अघि केन्द्रीय समितिले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाइसकेको छ । अध्यक्ष लामिछानेले आफ्ना मागप्रति सरकार सकारात्मक नभएपछि देशैभरीबाट मन्त्रीलाई ज्ञापनपत्र पठाउन लागिएको बताउनुभयो । उहाँका अनुसार देशभर झण्डै ६ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको उहाँले बताउनुभयो ।