काठमाडौँ, ६ भदौः त्रिभुवन विश्वविद्यालयबाट योग विज्ञान अधिस्नातक (पिजी डिप्लोमा) तहमा सर्वोत्कृष्ट भएका दुई विद्यार्थीलाई ललितपुर महानगरपालिकाले पुरस्कृत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि, संस्कृत केन्द्रीय विभागमा आज आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले शैक्षिक वर्ष २०७९÷८० को प्रथम सेमेस्टरका उत्कृष्ट छात्रा अञ्जु श्रेष्ठ र द्वितीय सेमेष्टरका उत्कृष्ट छात्र सनतकुमार न्यौपानेलाई पुरस्कार प्रदान गर्नुभयो ।
पुरस्कारको राशि जनही रु ५० हजार र सम्मानपत्र रहेको छ । ललितपुर महानगरपालिकाले योग विज्ञान अधिस्नातक अध्ययनका लागि ३० जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको थियो ।
सोअवसरमा नगरप्रमुख महर्जनले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा आफू अत्यन्त गौरवान्वित रहेको उल्लेख गर्दै आगामी दिनमा सहयोगको क्षेत्रलाई थप फराकिलो बनाउन नगरपालिका तयार रहेको बताउनुभयो । योगले मानव जगत्लाई शारीरिक, मानसिक र आध्यात्मिक उन्नयनको यात्रामा अघि बढाउने विश्वास व्यक्त गर्दै उहाँले ललितपुर महानगरलाई योगमय नगर बनाउने प्रयास थालिएको जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले योग विज्ञान कार्यक्रमका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था र शैक्षिक गुणस्तर अभिवृद्धिमा आफ्नो सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयले सञ्चालन गरेको योग विज्ञान कार्यक्रमलाई अन्तरराष्ट्रियस्तरको बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्रिवि संस्कृत विभागका प्रमुख प्रा डा नारायणप्रसाद गौतमले ठूलो मेहनतबाट विश्वविद्यालयमा योग विज्ञान अध्ययन सुरु भएको जनाउँदै शैक्षिक प्रमाणपत्र मात्र नभई व्यावहारिक ज्ञान लिन विद्यार्थीलाई आग्रह गर्नुभयो । “पश्चिमा समुदायले योगलाई जीवन पद्धति बनाइसके, यो हाम्रो पुर्खाले सृजना गरेको विद्या हो, अब नेपालीले योगमा वैश्विक नेतृत्व गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
प्राध्यापक एवं योग गुरु डा क्षितिज बराकोटीले त्रिविले सञ्चालन गरेको योग विज्ञान कार्यक्रमलाई विश्वस्तरको ज्ञान केन्द्रका रूपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याउँदै उक्त कार्यक्रमको श्रीवृद्धिका लागि थप सहयोग गर्न ललितपुर महानगरसँग आग्रह गर्नुभयो । उपप्रध्यापक गोविन्द घिमिरेले पूर्वीय निधिका रूपमा रहेको संस्कृत र योगको महत्ताबारे चर्चा गर्दै यसको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
उपकुलपति अर्यालले योग शिक्षाको फैलावटमा सहयोग गरेबापत ललितपुर महानगरप्रमुख महर्जनलाई कदरपत्र प्रदान गर्नुभयो । सो अवसरमा नेवारी सांस्कृतिक नृत्य, वैदिक मन्त्रोच्चारण, भक्ति सङ्गीत, यौगिक प्रस्तुति, योग आसनात्मक नृत्य प्रस्तुत गरिएको थियो ।
त्रिविअन्तर्गतको संस्कृत विभागले विसं २०७५ देखि योग विज्ञान विषय अध्ययन गराउँदै आएको छ । सुरुआती चरणमा एकवर्षे अघिस्नातक (पिजी) तहको अध्ययन सुरु गरेको विभागले २०७९ सालदेखि योग विज्ञान विषयमा स्नातकोत्तर अध्ययन गराइरहेको छ ।