भदौ ६, २०८२ शुक्रबार

काठमाडौँ, ६ भदौ : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालमा ५१ प्रतिशत महिलाको जनसङ्ख्या भएको हुँदा सोहीअनुसार समाचारका विषयवस्तुमा स्थान पाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा आज आयोजित ‘एजेन्सी पत्रकारिताः महिलाका मुद्दा’ विषयक कार्यक्रममा अध्यक्ष झाले जनसङ्ख्याका आधारमा समाचारका विषयवस्तुमा उचित स्थान दिनुपर्ने बताउनुभयो ।

“विश्वका धेरै समाचार समितिहरूले समाचारमा महिला र पुरुषका विषयहरू हाराहारीमै हुने गरेको देखिन्छ, भोग्ने व्यक्तिको अनुभूति र देख्ने व्यक्तिको अनुभूति फरक हुन्छ”, अध्यक्ष झाले भन्नुभयो, “भोग्ने व्यक्तिले नै विषयवस्तु उत्पादन गर्नुपर्छ, राससमा उत्पादन गर्ने सामग्रीमा पनि महिला र पुरुषका विषयवस्तुहरू बराबरी खालको उत्पादनमा ध्यान दिनुपर्ने जरूरी छ ।”

महासङ्घको रासस शाखाले विश्वका समाचार समिति र राससमा कस्ता खालका मुद्दाहरू कस्तो उठ्ने गरेको छ भनेर अध्ययन गर्दा उपयुक्त हुने सुझाव दिँदै उहाँले थप्नुभयो, “नेपालको राजनीतिमा आबद्ध महिलाको विषयवस्तु अलि बढी आउने गरेको छ तर अन्य धेरै क्षेत्रमा महिलाहरूले राम्रोसँग काम गरिरहेको छ, ती समाचार पनि आउनुपर्छ ।”

राससका महाप्रबन्धक सन्दीप राईले महिला समावेशीकरणका विषयलाई उच्च  प्राथमिकताका साथ समाचार दिइने र महिला सहभागिताको विषयलाई स्थान दिन जरूरी भएको बताउनुभयो । महासङ्घ राससका शाखाका उपाध्यक्ष अभिलाषा पोखरेलले महिला कर्मचारीको वृत्तिविकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।