म्याग्दी, ६ भदौ : केटा : ‘असारे मास, दब्दवे हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’
केटी : ‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टाले
फरिया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’
म्याग्दीको सदरमुकाम बेनीको सडकमा शुक्रबार दिनभर यस्तै गीत घन्कियो । गीतको भावमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नृत्य प्रस्तुत गरे ।
नेपाल भाषा मंकाःखलः, मैजुःखलः र ल्यामःपुचःको आयोजनामा एकमहिने लामो वर्खे नाचअन्तर्गत ‘रोपाइँ नाच’ देखाइएको हो । नेपाल भाषा मंकाःखलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बेनीमा बस्ती बसेदेखि दुई सय वर्ष अघिदेखि सुरु भएको वर्खे नाचअन्तर्गत रोपाइँ नाचलाई निरन्तरता दिएको बताउनुभयो ।
“गाउँका विशिष्ट व्यक्तिको खेतमा हुने रोपाइँको झल्को यस नाचमा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो, “पुरुषले महिलाको पोसाकमा सजिएर असारे गीतमा नाच्ने यो नाचको प्रमुख विशेषता हो ।”
गीत गाउने र खेतालाको अभिनयसहित नाच्ने करिब ५० जना कलाकार आवश्यक पर्छ । युवा पुस्ताको पलायन र पुराना पुस्ता नासिने क्रमसँगै पछिल्लो समय कलाकार अभाव भए पनि परम्परा र मौलिक संस्कृतिको जगेर्नालाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार पछिल्लो समय महिला र किशोर किशोरीलाई प्रशिक्षण दिएर रोपाइँ नाचमा सहभागी गराउन थालिएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाइने यस वर्खे नाचले बेनीमा जात्राकै रौनक दिने गरेको छ ।
लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने गरिन्छ । वर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचान हो । वर्खेनाचमा मृदृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ । तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।