भदौ ६, २०८२ शुक्रबार

काठमाडौँ, ६ भदौ : काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विपद्का घटनामा कमी आएको जनाएको छ ।   

    आर्थिक वर्ष २०८०/८१ मा कामपामा ४३१ विपद्का घटना घटेका थिए ।  गत आर्थिक वर्ष २०८१/८२ मा ४२५ विपद्का घटना घटेको कामपाले जनाएको छ । कामपा नगर प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार सङ्ख्यात्मक रूपमा विपद्का घटनामा गत आवमा कमी आए पनि शीर्षकगत रूपमा भने बढेको छ । 

    उहाँका अनुसार  शीर्षकगत रूपमा रूख कटान र जल उत्पन्नसम्बन्धी विपद्का घटना बढेका छन् । आगलागीका कारण अघिल्लो आर्थिक वर्षमा ३११ घटना घटेकामा गत आवमा १५२ मात्र आगलागीजन्य घटना घटेको तथ्याङ्क कामपासँग छ । उहाँका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेका हुन् । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापन गरिरहेको उहाँले जानकारी दिनुभयो । 

    बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ । त्यसैगरी थोत्रा ग्यास सिलिण्डरको प्रयोग, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ ।