सिमकोट (हुम्ला), ६ भदौ : जिल्लाको दक्षिण भेग चङ्खेली गाउँपालिका–६ को मेल्छाम गाउँमा सत्र वर्षीय बालिकाले मृत जुम्ल्याहा शिशु जन्माएकी छन् । मेल्छाम गाउँकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएको मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाले बताउनुभयो ।
बुढालाई सुत्केरी गराउनका लागि धेरै प्रयास गरिएको भए पनि उपकरणको अभावमा आमा सुत्केरी गराउन नसकिएपछि व्यथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्यचौकीमा लगिएको थियो ।
उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेको भए हेलिकोप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीले गर्भवती बुढालाई सुत्केरी गराउन सफल भए पनि मृतावस्थामा जुम्ल्याहा शिशु जन्मिएको स्वास्थ्यचौकी संयोजक बुढाले बताउनुभयो ।
बालिका स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत रहनुभएको छ । बुढाको घर सोही गाउँपालिका–३ को मेखाला गाउँ भए पनि अध्ययनका सिलसिलामा माइतीमै बस्दै आउनुभएको थियो । हाल आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले बताउनुभयो ।
हुम्लासहित कर्णालीका दुर्गम बस्तीका आमाहरूले सुत्केरी व्यथाका कारण अकालमै ज्यान गुमाउनु परेको छ । पछिल्लो केही वर्षयता राष्ट्रपति महिला उत्थानको उद्धार कार्यक्रमले यहाँका महिलाको ज्यान जोगिँदै आएको पाइन्छ । सानै उमेरमा विवाह गर्नुका कारण पनि हुम्लाका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने र दुःख झेल्दै आउनुपरेको स्वास्थ्यकर्मी बताउँछन् ।