भदौ ६, २०८२ शुक्रबार

लमजुङ, ६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित सबै वर्ग जातिको अधिकारका लागि आफ्नो पार्टीले लडिरहने बताउनुभएको छ । आज लमजुङ बेँसीसहर नगरपालिका–७ मा तामाङ सांस्कृतिक भवन तथा सङ्ग्राहालयको उद्घाटन कार्यक्रममा उहाँले समाजको तल्लो तहका जनताको पक्षमा निरन्तर लागिरहने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सबै उत्पीडित वर्ग, जाति, समुदायले जुन स्तरको पहिचान र अधिकार पाउनुपर्ने हो, संविधानमा हामीले त्यो ठाउँमा पुर्याउन सकेनौँ । हामी कहीँ न कहीँ केही न केही विषयमा सम्झौता गरेर जानुपर्ने थियो । र हामीले त्यतिबेलै भनेका थियौँ सहमतिमै संविधानसभा घोषणा गरिए पनि सो वर्ग र जातिका हक, अधिकार पूर्ण रूपमा प्राप्त नहुञ्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।”

अध्यक्ष दाहालले तराई र मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गरेर कास्कीमा आइपुगेर रोकेको उल्लेख गर्दै यही महिनाको तेस्रो हप्तादेखि पुनः अभियान सुरु गरिने बताउनुभयो ।

तामाङ सांस्कृतिक भवन तथा सङ्ग्रहालयका रूपमा नवनिर्मित भवन उद्घाटनसँगै लमजुङमा तामाङ समुदायको हकहित स्थापित गर्न र जनजातिका पक्षमा देशभर बलियो सन्देश प्रवाह गर्न सफल भएको उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, केन्द्रीय सदस्य मधुमाया अधिकारी, प्रतिनिधिसभा सदस्य उर्मिला माझीलगायतले तामाङ समुदायको हकहितका निम्ति सबैले आवाज उठाउनुपर्ने बताउनुभयो । सङ्घीय सरकारको रु ६९ लाखको बजेटमा सो तामाङ सांस्कृतिक तथा सङ्ग्राहालय भवन निर्माण भएको नेपाल तामाङ घेदुङका अध्यक्ष होमराज तामाङले बताउनुभयो ।