भदौ ६, २०८२ शुक्रबार

जलेश्वर (महोत्तरी), ६ भदौः जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय बिघा जग्गाको धानखेती बाढीको पानीले डुबाएको छ । जलेश्वर–८ को उत्तरपट्टीको वन (नर्रीचौरी) हुँदै पसेको बाढीले नर्रीचौरीका धानखेती डुबाउँदै पूर्वावारी चौरी, दक्षिणवारीचौरी, झरहीचौरी र पछियारीचौरीका केही खेतका धान नष्ट गरेको वडाध्यक्ष विजयकुमार सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार वडा नं ८ अन्तर्गत पर्ने रतवारा, रमौल र बजराही गाउँमध्ये सबैभन्दा बढी बजराही गाउँमा करिब एक सय ७० बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । बाढीले रतवारा र रमौल गाउँमा ३० बिघा क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको उहाँको भनाइ छ ।

    लामो समयपछि गत साउन दोस्रो साता परेको पानीले रोपाइँ गरेका बजराहीका किसान रोहित चौधरीले करिब तीन बिघा जग्गाको बाली बाढीले डुबाएर नष्ट गरेको जानकारी दिनुभयो । 

    सोही गाउँका किसान गौरी चौधरीले अचानक वन क्षेत्रमा आएको बाढीले आफ्नो दुई बिघा जग्गाको बाली डुबाएको बताउनुभयो । महँगो बीउ, मल र मजदुर खोजेर रोपाइँ गरेको बताउँदै किसान हरिश्चन्द्र ठाकुरले बाढीले दुई बिघा क्षेत्रफलको धानबाली नष्ट गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । किसान प्रेमचन्द्र पाठकले करिब डेढ बिघामा लगाइएको बालीमा बाढी पसेर क्षति गरेको बताउनुभयो । 

    उहाँहरू जस्तै जानकी ठाकुर, बौएलाल महरा, श्यामबाबु चौधरी, भरत चौधरी, अरविन्द्र साह, मनोज साह, दानी पाठक, आशनारायण मण्डल, दिनेश पाठक, मङ्गल पाठक, मोचन साह, रामजी ठाकुर, जीवछ मण्डललगायत दर्जन बढी किसानले लगाएका धानखेती बाढीले नष्ट पारेको बताएका छन् ।

    रतवाराका मोती मण्डल, विकास मण्डल, भजन मण्डल, रमौलका विल्टु यादव, विमल सिंह, भुनेश्वर यादवलगायत किसानद्वारा लगाइएको धानबाली बाढीले डुबाएको भन्दै दुखेसो सुनाउनुभयो । 

    जिल्लाको रातो खोलामा बाँधेर (थुनेर) राखेको पानीलाई महोत्तरी गाउँपालिका–३ मडै र एकडारा गाउँपालिका–५ कोल्हुवाका स्थानीयले एक साताअघि अचानक बाँध फुटाउँदा उक्त खोलाको पानी बाढी बनेर आएको जलेश्वर–८ का वडाध्यक्ष सिंहले बताउनुभयो । सोही खोलामा आएको बाढीका कारण यहाँ लगाइएको करिब ८० प्रतिशत धानखेती नष्ट भएको उहाँले जानकारी दिनुभयो ।

    वडाध्यक्ष सिंहले भन्नुभयो, “किसानको धानबाली डुबेर बढी क्षति भएको छ । अझैसम्म पनि यहाँ पानीको निकाशा भएको छैन । सोही कारणले करिब पाँच महिनासम्म पानी खेतमा जम्ने भएकाले कुनै पनि बाली लगाउन सकिँदैन ।” यसैबीच किसानले तत्काल पानीको निकाशा गरेर किसानलाई राहत उपलब्ध गराउने मागसहित जलेश्वर नगरप्रमुख सुरेश साह सोनारलाई आग्रह गरेका छन् ।