काठमाडौँ, ८ भदौः वैदिक वाङ्मयको अध्ययन अनुसन्धानमा काम गरिरहेको संस्था वैदिक अनुसन्धान गुठी (वाग्)लाई यस वर्षको सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार प्रदान गरिएको छ ।
सत्सङ्ग परिवार जाउलाखेलमा शनिबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष स्वामी केशवानन्द गिरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । गुठीले वैदिक वाङ्मयलाई प्रविधिसँग जोड्न गरेको कार्यका लागि यो पुरस्कार दिइएको हो । गुठीका तर्फबाट युवा स्वामी अध्यक्ष डा केशवानन्द गिरीले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको राशि नगद रु दुई लाख र सम्मानपत्र रहेको छ ।
रामलाल श्रेष्ठले आफ्ना माता, पिताको सम्मानमा यो पुरस्कार स्थापना गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा युवा सन्त डा केशवानन्द स्वामी, सत्सङ्ग परिवारका अध्यक्ष दीपक रिमाल, वेदान्तविद् रामप्रसाद भण्डारीलगायतले वैदिक वाङ्मयको रक्षाका लागि काम गरेको गुठीलाई पुरस्कार दिनु सुखद् विषय भएको बताउनुभयो ।