झापा, ८ भदौ : राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ ।
आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उहाँ गत एक महिना झापामा रहनुभएको थियो । यस अवधिमा उहाँको पुस्तक बिक्रीबाट रु दुई करोड २५ लाख सङ्कलन भएको छ ।
महाकालीबाट पुस्तक बिक्री गर्दै मेचीको किनार आइपुग्दा उहाँको सबैभन्दा बढी पुस्तक बिक्री भएको जिल्ला झापा हुन पुगेको छ । उहाँको पुस्तक सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति बिक्री भएको थियो ।
जिल्लाको १५ वटै पालिकामा उहाँ पुस्तक बिक्रीका लागि पुग्नुभएको थियो । भद्रपुर नगरपालिकामा सात दिनमा तीन हजार २१९ प्रति अर्थात् रु २४ लाख १४ हजार २५० को पुस्तक बिक्री भएको अभियानमा संयोजनकारी भूमिका निर्वाह गर्नुभएका भद्रपुरका दिपेश ढकालले बताउनुभयो ।
“उहाँ अति साधारण जीवनशैली भएको व्यक्तित्व हुनुहुँदोरहेछ”, ढकालले भन्नुभयो, “पुस्तक बिक्री अभियानमा हिँड्दा उहाँले बाटामा पोलेका मकै र मःम खाएर भोक मेटाउनुहुन्थ्यो । ऐस, आराम र सम्मानमा उहाँको रुचि हुँदैनथ्यो । आफूले लगाएका लुगा आफैँ धुनुहुन्थ्यो ।”
झापाबाट पुस्तक बिक्रीका लागि इलाम पुग्नुभएका वैज्ञानिक पुनको अभियानमा अर्का एक जना सहयोगी हुनुहुन्छ । सामान बोक्ने सवारीसाधनमा आउनुभएका उहाँ त्यही गाडी लिएर अभियानमा पुग्नुहुन्छ । उहाँको सहयोगीले गाडी हाँक्नुहुन्छ ।
बिक्रीबाट सङ्कलन भएको नगद उहाँले राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा नियमित रूपमा जम्मा गर्नुहुने ढकालले बताउनुभयो । “दिनभरि किताब बेच्न हिँड्दा खुट्टा सुन्निने गरेका छन्”, ढकाल भन्नुहुन्छ, “उहाँलाई आफ्नो स्वास्थ्यको पनि त्यति चिन्ता देखिँदैन, जति चिन्ता उहाँ वीरगञ्जको औजार कारखाना चलाउने विषयमा लिनुहुन्छ ।” पुस्तक विक्रीबाट सङ्कलन भएको रकम आविष्कार केन्द्रमार्फत वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च हुँदै आएको वैज्ञानिक पुनले बताउनुभएको छ ।
आत्मकथा बेच्दै हिँडेको पाँच सय दिन पूरा भएको जनाउँदै वैज्ञानिक पुनले अहिलेसम्म दुई लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री भइसकेको बताउनुभयो । “अहिलेसम्ममा खर्च कटाएर लभगभ रु १२ करोड बच्यो । त्यही पैसाले वीरगञ्ज कृषि औजार कारखाना मर्मत गरेको हो र नयाँ मेसिनहरू पनि थपेको हो ।” आफूले नेतृत्व गरेर सञ्चालनमा ल्याएको वीरगञ्ज औजार कारखाना राम्रैसँग चलिरहेको र त्यहाँ ४० इञ्जिनियरहरूले रातदिन काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।