भदौ ८, २०८२ आइतबार

वालिङ (स्याङ्जा), ८ भदौः वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गएराति ११ बजे थापामाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए । 

    प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकामा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, चापाकोट नगरपालिका–५ काम्तीका २४ वर्षीय अनिल शाही रहेको चौधरीले जानकारी दिनुभयो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । 
---