भदौ ९, २०८२ सोमबार

म्याग्दी, ९ भदौ : म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू उत्साहित भएका छन् । 

गाईभैँसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि सागसब्जी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । 

“किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ”, उहाँले भन्नुभयो, “बजेट बढाएर साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।” 

चालु आव २०८२/८३ मा उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु १५ लाख, साजसब्जीमा रु १० लाख र मासुमा रु सात लाख ५० हजार बजेट विनियोजन गरेको नगरपालिकाले आवेदन सङ्कलन गरेर लाभग्राही छनोटको प्रकृयाअघि बढाएको छ । 

आव २०८१/८२ मा १८ जना गाईभैँसीपालक कृषकले रु १० हजारदेखि ४५ हजारसम्म गरी कूल रु पाँच लाख ५० हजार र २८ जना बाख्रापालकले रु सात लाख ५० हजार अनुदान पाएका नगरपालिकाका पशु चिकित्सक आशिष सापकोटाले बताउनुभयो ।

आव २०८०/८१ मा ३२ जना बाख्रापालक कृषकले रु छ लाख ४४ हजार ९८० र १८ जना दुग्ध उत्पादक कृषकले रु पाँच लाख अनुदान पाएका थिए । बेनी नगरपालिका–७ कुरिलाखर्कका भैँसीपालक कृषक सुरेश ढुङ्गानाले उत्पादनमा आधारित अनुदानले किसानलाई प्रोत्साहन मिलेको, उत्साहित बनाएको र व्यवहारिक भएको बताउनुभयो । 

बेनी नगरपालिकाले उत्पादनका आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएको छ । कार्यविधिअनुसार कम्तीमा आठ वटा माउबाख्रा र तीन वटा दूध दिने गाईभैँसी पालेका किसानले अनुदान पाउँछन् । किसानले पालेका पशुको सङ्ख्याको आधारमा वर्गीकरण गरेर अनुदान पाउने व्यवस्था मिलाइएको छ । 

पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि बजार सञ्चालन गर्न भवन निर्माणाधीन छ ।