भदौ ९, २०८२ सोमबार

जलेश्वर (महोत्तरी), ९ भदौः महोत्तरीसहित नेपाल र भारत क्षेत्रमा पर्ने सम्पूर्ण मिथिला क्षेत्रमा एक दिनपछि लगातार चारवटा पर्व मनाइने भएको हुँदा मिथिलावासीलाई अहिले पर्वको तयारी गर्न भ्याइनभ्याइ भएको छ । 

मिथिला क्षेत्रमा भोलि (मङ्गलबार) महिलाहरुले तीज पर्व मनाउने भएका छन् भने सोही दिन यस क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व पनि मनाइने छ । त्यसैगरी बुधबार यस क्षेत्रमा गणेश चतुर्थी (गणेश पूजा) र बिहीबार ऋषिपञ्चमी मनाइने भएको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । 

मिथिला पञ्चाङ्ग र साइतका अनुसार मिथिलामा यस पटक चाडपर्व चाँडो परेको उल्लेख गर्दै पुजारी पाठकले धेरै पर्व जुध्ने र एकै साथ मनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । लगातार चारवटा पर्व मनाउनुपर्ने भएकाले यस क्षेत्रका महिला, पुरुष बर्तालु तथा परिवारजनलाई धेरै कुराको जोरजाम गर्नुपर्ने भएकाले अहिले भ्याइनभ्याइ भएको जलेश्वर–२ का सुदीश साहले बताउनुभयो ।

सङ्घीय राजधानी काठमाडौँसहित सम्पूर्ण देश तथा तराई मधेसलगायत सम्पूर्ण मिथिलाञ्चलमा भदौ १० गतेअर्थात् भोलि अटल सौभाग्यको कामना गर्दै मनाइने तीज पर्वको तयारीमा मिथिलावासी महिलाहरु पनि जुटेका छन् ।
    
    पतिको दीर्घायुको कामना गर्दै प्रत्येक नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष मनाउने हरितालिका तीज पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी नारी (मिथिलानीहरु) अहिले विभिन्न तयारीमा लागेका हुन् । 
    
    मिथिलानीहरु अहिले आ आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टीका, बिन्दी, मेहन्दी किनमेल गर्नमा व्यस्त देखिएका छन् भने पर्वकै लागि अनिवार्य अन्य पूजा सामग्री पनि किनमेल गर्दै देखिएका छन् । 
    
    पर्व मनाउन अब एक दिन मात्रै बाँकी रहँदा महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित हटियामा अहिले महिलाहरुको ठूलो भीड लागेको छ । त्यहाँ महिलाहरु विभिन्न सामग्री किनमेल गरिरहेका र त्यस्तै यहाँको विभिन्न शृङ्गार पसल, कपडा, पसल तथा चुरापोतेका पसलहरुमा पनि महिलाहरुको भीडभाड रहेको हेर्न सकिन्छ । 

पतिको दिर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत तराई, मधेसका महिलाहरुले भोलि मङ्गलबार तीज पर्व मनाउने भएका छन् । यस्तै सोही दिन यस क्षेत्रमा मनाइने चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) का लागि पनि परिवारका महिला पुरुषहरुले बाँसको चोयाबाट निर्मित डालो, विभिन्न फलफूल, पूजा सामग्री किनमेल गर्दै गरेका देखिएका छन् ।

यस पर्वमा मङ्गलबार राति प्रत्येक मिथिलावासीहरु स्याउ, केरा, अनार, भोगटे, मकै, काँक्रो, दही, मिठाई र पूरी लगायतका पूजा सामग्री लिएर चन्द्रमाको पूजा गर्नेछन् । घरमूली महिला दिनभरि निराहार बसेर राति चन्द्रमा उदाएपछि विभिन्न पूजा सामग्री र प्रसादको अघ्र्य दिँदै चन्द्रपूजा गर्नेछन् । त्यसलाई स्थानीय भाषामा चौरचन र चौठचन्द्र पर्व भन्ने गरिएको छ । 

त्यसैगरी प्रत्येक गाउँ सहरमा बुधबार मनाइने गणेश चतुर्थी (गणेश पूजा) को लागि पनि यस क्षेत्रका बासिन्दा पूजा सामग्री, प्रसाद र अन्य वस्तु किनमेल गर्नमा व्यस्त देखिएका छन् । कतै कतै त यस दिनमा ठूलो मूर्ति निर्माण गराइ पूजाअर्चना र मेलाको पनि तयारी भइरहेको देखिएको छ भने जसमध्ये महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा पनि भव्य गणेश मूर्ति बनाइनुका साथै मेलाको पनि धुमधामका साथ तयारी चलिरहेको वडा नम्बर १ का वडाध्यक्ष अनिल झाले बताउनुभयो ।

त्यसै क्रममा बिहीबार यस क्षेत्रमा मनाइने ऋषिपञ्चमी पर्वका लागि पनि महिला पुरुषहरु तयारी गरिरहेका छन् । यस दिनमा यस क्षेत्रका महिला, पुरुषहरु यसै क्षेत्रमा बग्ने रातो, विग्ही, मरहा, कमलालगायतका नदीमा एकाबिहानै स्नान, पूजाअर्चना र ऋषिमुनिको दर्शन गर्ने चलन रहेको जलेश्वर–८ का पण्डितबद्री नारायण झाले बताउनुभयो ।
–––