भदौ १०, २०८२ मंगलबार

काठमाडौँ, १० भदौः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । 

    हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई शुभकामना दिँदै उहाँले तीज मनाउने क्रममा हुने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जान आवश्यक रहेको बताउनुभयो । 

    तीजमा दिदीबहिनी एकैठाउँमा जम्मा भएर भएर गीतमार्फत दुःख, वेदना पोख्ने परम्परा रहिआएकामा अहिले समसायिक विषयमासमेत महिलाहरुले गीतमार्फत खबरदारी र सकारात्मक सन्देश प्रवाह गर्ने गरेको उहाँको भनाइ छ । 

    उपाध्यक्ष घिमिरेले भन्नुभएको छ, “तीजले साथीसङ्गी, परिवार एवं आफन्तबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न मद्दत पु¥याउँछ, नेपाली मौलिक संस्कृति र सामाजिक परम्पराको सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचारयुक्त जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता हो ।”

    उपाध्यक्ष घिमिरेले हरितालिका तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।