भदौ १०, २०८२ मंगलबार

काठमाडौँ, १० भदौ ः प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले  नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो । 

उहाँले  भन्नुभएको छ,“संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मङ्गलमय शुभकामना !”  प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको जनाउँदै तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताउनुभएको छ । 

“प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, “हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्याउँछ भन्ने चर्चा गर्न थालेको छ ।”

आज नेपाली हिन्दू महिलाले हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाउँदै छन् । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर तीज मनाउँछन् ।