बागमती, १० भदौः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पर्वको गौरव र मर्यादालाई कायम राख्दै तीज पर्व मनाउनुपर्ने बताउनुभएको छ ।
हरितालिका तीज २०८२ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले पछिल्लो समय देखापरेको भड्किलो र देखासिकीबाट पर रहेर पर्वको गौरव र मर्यादालाई कायम राख्दै तीज मनाउन आग्रह गर्नुभएको हो ।
सन्देशमा भनिएको छ, “तीज पर्वले पारिवारिक तथा सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउनका साथै मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न मद्दत पुग्ने छ ।” पर्वले सबैको जीवनमा हर्ष, उत्साह र उमङ्ग भर्न सकोस् भने शुभकामना दिनुहुँदै उहाँले मुलुकको समृद्धि, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नका लागि यस्ता चाडपर्वहरूको ठूलो भूमिका रहेको चर्चा गर्नुभएको छ ।