भदौ १०, २०८२ मंगलबार

काठमाडौँ, १० भदौः गृह मन्त्रालय मातहत गठित एक कार्यदलद्वारा प्रस्तुत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिए अनुसार २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्ताव सोमबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले मन्त्रिपरिषद्बाट पठाइएको प्रस्तावमा आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृह मन्त्रालयले जनाएको छ । सेवाग्राहीको हैरानी अन्त्य गर्ने उद्देश्यसहित उक्त प्रस्ताव गरिएको हो ।

मन्त्री लेखकले आन्तरिक स्रोत व्यवस्थापन गरेर तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थप गर्नुपर्नेमा जोड दिनुभएको छ । गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन संरचना, दरबन्दी हेरफेर गर्न र नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले गत पुसमा सचिवस्तरको निर्णय गरी ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन’ पेस गर्न गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

गृहमन्त्री लेखकले सेवा प्रवाहलाई थप सहज र सरल बनाउन जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानता समाधानका लागि मन्त्रालयका नेतृत्व लिएदेखि जोड दिँदै आउनुभएको छ ।