भदौ ११, २०८२ बुधबार

पाँचथर, ११ भदौः हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण उपलब्ध गराएको छ । गाउँपालिकाले मङ्गलबार १० जना व्यवसायीलाई वेल्डिङ मेसिन, ड्रिल मेसिन, वेल्डिङ रड र ड्रिलबिट प्रदान गरेको हो । 

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार रु दुई लाख ४८ हजार लागतमा ती उपकरण खरिद गरी व्यवसायीलाई वितरण गरिएको हो । 
“आरन चलाउनेको सङ्ख्या घट्दै गएको छ । पहिलो चरणमा १० जनालाई सहयोग गरेका छौँ, गाउँपालिकाको सहयोगले व्यवसायलाई नयाँ रुपमा विकास गरी आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो । यहाँका विशेषतः गाउँघरमा कृषि र घरायसी प्रयोगका औजार निर्माण र मर्मत गरिन्छ ।
 
त्यसैगरी, चालु आवमा सङ्घीय सरकारले दलित समुदायका परम्परागत पेसा व्यवसाय प्रवरद्धन गर्न रु ५० लाख विशेष अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । उक्त बजेटले अधिकांश आरन ब्यवसायीलाई आवश्यक सामग्री उपलब्ध गराउने अधिकारीले बताउनुभयो ।


परम्परागत रूपमा सञ्चालित आरनबाट निर्मित औजार गुणस्तरीय हुने भए पनि अहिले बजारमा पाइने औजारभन्दा मूल्य बढी पर्ने गरेको छ । यहाँका आरनलाई आधुनिक बनाउन सके उत्पादित औजारको मूल्य पनि घट्ने उत्पादकहरू बताउँछन् । आगामी वर्षमा भने गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरी आवश्यकताका आधारमा सामग्री उपलब्ध गराउने तयारी गरेको छ ।
 
हिलिहाङ–६ का सन्तवीर रसाइलीका अनुसार परम्परागत आरनमा निर्मित सामग्रीले राम्रो मूल्य पाउने भए पनि आरनलाई आधुनिक बनाउन सरकारी सहयोग आवश्यक छ । आरनलाई धेरै परिश्रम नलाग्ने बनाइदिए हामीलाई सजिलो हुन्थ्यो । अधिकांश दलितहरूसँग पर्याप्त जग्गाजमिन र आम्दानीको स्रोत नभएकाले गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्नेमा उहाँको जोड छ । 

गाउँ कार्यपालिकाकी सदस्य गङ्गामाया विश्वकर्मा हिलिहाङमा करिब १०० घरमा परम्परागत आरन व्यवसाय रहेकामा सरकारी तवरबाटै परम्परागत पेसालाई सम्मान गर्न सकेमात्र व्यावसायिक रूप लिनसक्ने बताउनुहुन्छ ।