भदौ ११, २०८२ बुधबार

काठमाडौँ, ११ भदौ (रासस): हिजोआज तीजको माहोलले घरदेखि सार्वजनिक स्थल छपक्कै ढाकेको छ । धार्मिक रूपमा पार्वतीले शिवलाई पति पाउन निराहार व्रत गरेको कथामा आधारित पर्व हो तीज । हिन्दू धर्माबलम्बी महिलाहरु बिहानैदेखि शौभाग्य पोशाकमा सजिएर शिवालयमा धाएका छन् । रातो सारी, रातो ब्लाउज, रातै चुरा, पोते र टिकामा सजिएका महिलाहरु शिवको पूजा आरधनापछि नाचगान गरेर रमाइलो गर्छन् । तीजको दिन अविवाहिता महिलाले आफूले मन पराएको वा योग्य वर पाउने कामना गर्छन् । विवाहिता महिलाले आफ्ना पतिको दीर्घायु र समृद्धिको कामना गर्छन् । तीजका दिन निराहार व्रत बसेर शिवको आरधना गरे मनोकांक्षा पूरा हुने धार्मिक कथन छ । 

धार्मिक रुपमा साँघुरो तीज विस्तारै फराकिलो बन्दै गएको छ । छोरीचेली र माइती पक्षबीच पारिवारिक जमघट र जमघटमा नाचगानले प्रश्रय पाउँदै गएको छ । विस्तारै अहिले तीजका सामाजिक, संस्कृति र आर्थिक पाटाहरु फराकिला बन्दै गएका छन् । यसले तीज मनाउने शैली र परम्परा फराकिलो र लामो बनाउदै गएको छ । तीज कहिलेदेखि मनाउने ? हरेक वर्ष तीज सुरु हुन लाग्दा बहस चल्छ । पश्चिम पहाडमा पहिल्यैदेखि नै साउने सङ्क्रान्तिदेखि महिलाहरू जम्मा भएर नाचगान गर्ने र रमाउने चलन छ । तिनै पहाडी जिल्लाका जनसङ्ख्या बसाइँ सरेर अन्यत्र स्थानमा गएपछि तीजको माहोल एक महिनाभन्दा बढी चल्ने गरेको छ । 

तीज नजिकिएपछि महिलाहरु रातो चुरा, रातो पोते, रातो सिन्दूर र रातै सारी ब्लाउजमा सजिन्छन् । गरगहना र शौभाग्य पोशाकमा चिरीच्याट्ट पर्छन् । पहिले महिलाहरु पालैपालो घरका आँगन र चौतारोमा जम्मा भएर तीज गीत गाउँदै र नाच्दै गर्थे । अहिले बजार क्षेत्रमा ठूला आँगन र चौतारा छैनन् । त्यसैले शौभाग्य पोसाकसहित शृङ्गारमा सजिएका महिलाहरू होटल रेस्टुराँ र पाटी प्यालेसमा रमाउने गरेका छन् । पहिले घरको चुलोचौकोमा सिमित महिलाहरु अहिले महिला समूह, टोल समूह, सङ्घसंस्था, जागिर, व्यवसाय र राजनीतिमा जोडिएका छन् । आफू जोडिएका तिनै सङ्घसस्थाले आयोजना गरेका तीजका कार्यक्रममा महिला रमाउँछन् । सङ्घसस्थाले पर्व मनाउने यो शैलीले कामकाजी र माइतीघरबाट टाढा हुने महिलाका लागि पनि तीज रमाउने माध्यम बनेको छ । 

हरेक वर्ष तीज नजिकिँदै गर्दा तीजको मौलिकतामाथि प्रश्न उठ्छ । जब महिलाहरु सारी लगाएर नाचगान गर्न निस्कन्छन्, तब मौलिकताका हराएका दुखेसाका तयारी प्रश्नहरु र सुझावहरु तेर्सिन सुरु गर्छन् । हो, हाम्रा चाडपर्वहरुका मौलिकता फेरिएका छन् । जन्मदेखि मृत्युसम्मका संस्कार पहिलेजस्ता छैनन् । सबैभन्दा पवित्र मानिने व्रतबन्ध र मृत्युपछिको काजकिरिया त धेरैले घरमा गर्दैनन् । होटल वा सार्वजनिकस्थल खोजेर गर्छन् । तीजमा महिलाले घरमा दर खाएनन्, घरमा नाचेनन् भनेर किन चिन्ता गर्नु ? चिन्ता सबै पर्व र संस्कारको गरौँ । मौलिकताका नाममा महिलालाई घरमै मात्र तीज मनाउन, आफैँले खाना पकाउन र जुठो भाँडा स्याहार्न बाध्य पार्न खोज्नु मौलिकताको नाममा पितृसत्तात्मक दासताको प्रवृत्ति हो ।
 
समयसँगै तीज गीतका भाका र लय फेरिएका छन् । शब्द फेरिएका छन् । हामीले गाउने देउसीभैलोका लय हुन् वा अरु सबैका शब्द र शैली फेरिएका छन् । उत्ताउला गीत र शब्दको विरोध गरौँ । तर, मौलिकता नाममा अहिले पनि महिलाहरु हजुरआमाका पालामा जस्तो भक्तिभावका मात्र गीत गाउने वा उति बेलाजस्तै फनफनी घुमेर नाचुन् भन्ने चाहनु गलत हो । तीज मिलन कार्यक्रममा अतिथि बनेर आउने आसन र भाषण गर्ने पुरुषहरु तीजका सबैभन्दा धेरै आलोचक छन् । लाग्छ, अरुबेला आफूहरु मात्रै आसन, भाषण र शासन गरेका ती अगुवा पुरुषहरुले महिलाले आसन, भाषण र शासन गरेको सहीसक्नु नभएको हो । यस्तो मनोवृत्ति पुरुष वा महिला दुवैले त्याग्नुपर्छ । 

अहिले समय फेरिएको छ । तीज मनाउने शैली फेरिएको छ । अर्थात् तीजका आर्थिक, सामाजिक र मनोवैज्ञानिक पाटाहरु फेरिँदै गएका छन् । तीजको परिवर्तनलाई मनगणन्ते विश्लेषण गर्नुहुँदैन । समय, बजार, महिलाहरुको चेतनास्तर र आत्मनिर्भरतासँग जोडेर हेर्नुपर्छ । तीजमा बजारले पनि ठूलो प्रभाव पारेको छ । किनकी अहिलेको बजार नाफामुखी बजार हो । तीजमा बजार प्रवद्र्धन गरी नाफा कमाउने अवसर बनेको समेत हेरौँ । 
 
तीज साङ्गीतिक पर्व हो । तीजसँगै साङ्गीतिक बजार मौलाएको छ । तीजमा गीत निकाल्ने कलाकारहरुको सङ्ख्या बढेको बढी छ । हरेक वर्ष झण्डै ५०० तीज गीत र तीनका भिडियो बन्छन् । झण्डै १० करोडको साङ्गीतिक कारोबार तीजले गराएको छ । तीज विशेष कार्यक्रमले गायकगायिका र कलाकारलाई कमाउने माध्यम बनाएको छ । नाच्ने, गाउने र बजाउने सबैले काम र दाम पाएका छन् । तीजमा तीज नाचगान प्रतियोगिता हुन्छ । मिस, मिसेज प्रतिस्पर्धा चल्छ । यी प्रतियोगिता र प्रतिस्पर्धाले पनि धेरैलाई कला, गला देखाउने र कमाउने मौका जुराएको छ । 

तीजले गरगहनाको बिक्री बढाएको छ । गरगहनासँगै लत्ताकपडाको खरिदबिक्री बढाएको छ । रातो चुरा, रातो पोते र शृङ्गारमा सजिन नयाँ लुगा किन्ने महिला बढेका छन् । समूह समूहले उस्तै खालका पोसाक लगाउने चल्तीले बजारमा किनमेल अझ बढेको छ । तीजले होटल व्यवसायलाई पनि चलायमान बनाउँछ । वर्षा लागेपछि सुनसान बनेका होटल, रेष्टुराँमा तीज नजिकिएपछि चहलपहल हुन्छ । यसलाई सकारात्मक रुपमा लिऔँ । 

अहिले केही मानिसहरु महिलाले एक महिनासम्म तीज मनाएर विकृति बढ्यो भनेर रोइलो गरिरहेका छन् । महिलाले विकृत बढाउने मुख्य कारण होटल रेष्टुराँँ र पार्टी प्यालेसमा तीज मनाउनुलाई मानेका छन् । तिनै ठाउँमा दर खानुलाई मानेका छन् । दर खाँदा कसैले मदिरा पो पिए कि भनेर चियोचर्चो गरिन्छ । तर, बाह्रैमास मदिरा खाने पुरुषको कसैले चियोचर्चो र टिप्पणी गर्दैन । जड्या पुरुषकै कारण नेपालका मदिरा उद्योग, होटल र बार चलेका छन् । घरेलु हिंसादेखि यौन, सामाजिक र आर्थिक हिंसा बढेको छ । यसले विकृति ल्यायो भनेर चाही कतै चर्चा हुँदैन । मदिरा पुरुषले पनि खानु राम्रो होइन, महिलाले पनि होइन । अब त्यसबारेमा बहस गर्नुपर्छ ।  

पहिले अहिलेको जस्तो बजार थिएन । सुविधा थिएन । महिलाको हातमा आर्थिक स्रोत थिएन । स्रोत हुनेले पनि कहा कसरी खर्च गर्ने विकल्प थिएन । घरमा जे हुन्छ त्यही खानुपथ्र्यो । महिलाको पर्व भए पनि दिदीबहिनी बोलाएर सबै परिकार आफैँले पकाउने, खुवाउने र जुठोभाडो स्याहार्ने गर्नुपथ्र्यो । अहिले महिला कोही राज्यका उच्च पदमा छन् । कसैले जागिर त कसैले व्यवसाय गरेर कमाएका छन् । सामाजिक सम्बन्ध फराकिलो बनेको छ । समूह, सङ्घसंस्था, कार्यालयमा दिदीबहिनी बन्ने र सामाजिक सम्बन्ध मजबुद बनाउन तीज मिलन गर्न थालेका छन् ।  पैसा हुनेका लागि होटल, रेष्टुरँ र पाटी प्यालेसले पकाउने, खुवाउने र जुठोभाडो स्यार्ने बाध्यताबाट मुक्ति दिएका छन् । महिलाले पनि तीजमा सुविधा लिँदा यसमा किन रोइलो गर्नु ? 

हामी हुर्कने बेलासम्म सुन्थ्यौँ, छोरीबुहारीले दाँत देखाएर र आवाज निकालेर हाँस्नुहुँदैन । कम्मर मर्काएर नाच्नु हुन्न । हाउभाउ गरेर नाच्दा उत्ताउलो भइन्छ । के अहिले पनि तीजमा कम्मर मर्काउने महिलालाई उत्ताउला र विकृत भनौँ । जनसङ्ख्यामा आधाभन्दा बढी हिस्सा महिलाको छ । महिला हाँस्दा, नाच्दा र रमाउदा विकृति हुन्छ भने के गरौँ ? महिलाहरु रोएर संस्कृति बचाऔँ । हामीले संस्कृति र विकृतिलाई लिङ्गसँग तुलना गरेका छौँ । महिलाले गरे विकृति र पुरुषले गरे चलनचल्ती भन्ने मानसिकता छ । हो, त्यही मनोविज्ञान र दृष्टिकोण गलत छ । भेदभावपूर्ण छ । तीजका बारेमा अनावश्यक प्रश्न तेर्साएको छ । तीज परम्परागत रुपमा माइतीघरमा गएर दर खाएर नाच्ने पर्व हो । तर, अहिलेका कामकाजी महिला दर खान माइतीघर जान सक्ने अवस्थामा छैनन् । माइत जान नसक्ने महिलाको तीज नखोसौँ । आफ्ना सामाजिक सम्बन्धका दिदीबहिनी दाजुभाइसँग तीज मनाउने अवसर सिर्जना गरौँ । चाडपर्वलाई सङ्कीर्ण दृष्टिले नहेरौँ ।