झापा, ११ भदौः प्रतिनिधिसभाकी पूर्वसांसद विमला विश्वकर्मा पछिल्लो समय राजनीतिसँगै आत्मनिर्भरताका लागि व्यापारमा सक्रिय हुनुहुन्छ । झापाको विर्तामोड नगरपालिका–१ निवासी उहाँ अर्थोपार्जनका लागि सरसफाइसम्बन्धी रासायनिक सामानको व्यापारमा लाग्नुभएको हो । उहाँलाई हलुका तीन पाङ्ग्रे सवारीसाधनमा सामानहरू राखेर सहरका गल्ली र चोकमा बिक्री गर्दै हिँडेको अवस्थामा भेट्न सकिन्छ ।
“राजनीति समाजको सेवा हो भने व्यापार जीविकोपार्जनको माध्यम हो”, विश्वकर्माले भन्नुभयो, “राजनीति इमानदारीपूर्वक गरिने जनसेवा भएकाले त्यसबाट जीविकोपार्जन हुँदैन । म र मेरो परिवारको दैनिकी जीवन चलाउन आम्दानीमूलक उद्यम गर्नै पर्छ । त्यसैले व्यापारको बाटो रोजेकी हुँ ।”
पूर्वसांसद विश्वकर्मा मजदूर क्षेत्रबाट राजनीतिमा आउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन जिफन्टको कार्यकर्ताका रूपमा उहाँले लामो समय सङ्घर्षमय भुइँतहको राजनीतिक जीवन बिताउनुभएको थियो । पार्टीले विसं २०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभाको सदस्य निर्वाचित गरेपछि उहाँको जिम्मेवारी फेरियो ।
“पदीय जिम्मेवारी अस्थायी कुरा हो भन्ने मलाई हेक्का थियो”, उहाँले भन्नुभयो, “त्यसैले सांसदको जिम्मेवारी सकिएपछि केही नयाँ उद्यम गरौँ भन्ने मनमा लागिरहेको थियो । त्यही भएर उद्योगमा हात हालेकी हुँ ।” पूर्वसांसद विश्वकर्माले घरमा रु २५ लाखको लगानीमा ‘युनिक केमिकल उद्योग’ सञ्चालन गरिरहनुभएको छ । उक्त उद्योगबाट कालो फिनेल, सेतो फिनेल, ट्वाइलेट क्लिनर, भाँडा माझ्ने डिसवास, सिसा पुछ्ने कोलिन र हेन्डवासलगायत सरसफाइका सामग्री उत्पादन भइरहेका उहाँले जानकारी दिनुभयो ।
“आफू जहाँ गए पनि झोलामा वा गाडीमा आफ्नो उद्योगबाट उत्पादित सामानहरू लिएरै जान्छु”, उहाँले सुनाउनुभयो, “मैले व्यापार थालेकी छु है साथीहरू भन्छु । चिनेजानेका साथीसँग भेटेर व्यापारका बारेमा सूचना दिने गर्छु । भेटमा साथीहरूले एकएक पोका सामान किनिदिनु हुन्छ ।”
अखिल नेपाल महिला सङ्घ झापाले दमकमा हालै आयोजना गरेको तीज विशेष कार्यक्रममा पूर्वसांसद विश्वकर्माले बिक्रीका सामानसहित सहभागिता जनाउनुभयो । तीज मनाउन भेला भएका जिल्लाभरका साथीहरूले सामान किनिदिएका उहाँले बताउनुभयो ।
राजनीति गर्नेहरूले व्यवसायमा नजोडिने हो भने धेरै प्रश्न उठ्ने भएकाले राजनीतिक जिम्मेवारी निर्वाहसँगै महिला उद्यमी बन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । सानो लगानीबाट आफूले उद्यम सुरु गरेको जनाउँदै उहाँले सामान उत्पादन गर्न छोराछोरीले सहयोग गरिरहेका उल्लेख गर्नुभयो । बढी उत्पादन गरेर मात्र नहुने भन्दै बजारीकरणका लागि आफू पहिला बजार खोज्नतिर केन्द्रित भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले आठ प्रकारका सामानलाई प्याकेज बनाई रु एक हजारमा बिक्री गर्दै आउनुभएको छ । विर्तामोड नगर अस्पताल, विर्तामोड नगरपालिका, केही सुपर मार्केटलगायत सङ्घसंस्थाले नियमित रूपमा सामान खरिद गरिदिने गरेका विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँ हाल नेकपा एमालेको कोशी प्रदेश कमिटीको सचिवालय सदस्य एवं मुक्ति समाजको झापा इञ्चार्जको राजनीतिक जिम्मेवारीमा हुनुहुन्छ । “व्यापारमा लाग्नु भनेको राजनीति छाडेको भन्ने होइन”, उहाँले भन्नुभयो, “उद्योग र व्यापारमा बढी समय दिइरहेकी छु । राजनीतिक काम पनि गरिरहेकै छु ।”