भदौ ११, २०८२ बुधबार

जेरुसलेम, ११ भदौ (सिन्ह्वा): इजरायलका अनुसन्धानकर्ताहरूले बनजंगलमा लाग्ने आगोको जोखिम पहिचान गर्न देश र क्षेत्र अनुसार अनुकूलन गर्न सकिने कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित नयाँ विधि विकास गरेका छन् । टेल अविभ विश्वविद्यालयले मंगलबार जानकारी दिएको हो ।

जलवायु परिवर्तनका कारण विश्वभर बनजंगलमा आगोको सङ्ख्या र तीव्रता बढिरहेको छ, जसले वातावरणमा हानिकारक ग्यासहरू उत्सर्जन गर्दै स्थानीय समुदाय र पारिस्थितिकी प्रणालीलाई गम्भीर असर पु¥याइरहेको छ ।

अहिलेसम्म बनजंगल आगोको जोखिम मापन गर्ने सूचकाङ्कहरू मुख्य रूपमा अष्ट्रेलिया, क्यानडा र अमेरिका जस्ता देशमा विकास भएका थिए । ती देशहरूमा तिनीहरूको प्रभावकारिता राम्रो भए पनि अन्य क्षेत्रहरूमा सटीकता कम हुने समस्या थियो ।

नयाँ विधिले प्रत्येक देशको जलवायु, वनस्पति, जमिनको प्रयोग र आगो लाग्ने कारणअनुसार सूचकाङ्कलाई परिमार्जन गरी पूर्वानुमानको सटीकता ७० प्रतिशतबाट ८६ प्रतिशतसम्म पु¥याएको छ ।

अध्ययनका क्रममा क्यानाडाली सूचकाङ्क सबैभन्दा भरपर्दो प्रमाणित भयो । अनुसन्धानकर्ताहरूले जेनेटिक एल्गोरिदम प्रयोग गरी यसलाई प्रत्येक देशको लागि अनुकूलन गरेका थिए । त्यसपछि देशअनुसारको कृत्रिम बुद्धिमत्ता मोडेल बनाएर सजिलै प्रयोग गर्न मिल्ने निर्णय वृक्षमा रूपान्तरण गरे ।

यस नयाँ प्रणालीले आपत्कालीन सेवाहरूलाई छिटो र सही पूर्वसूचना दिन, स्रोतको प्रभावकारी प्रयोग गर्न र क्षति न्यूनिकरणमा सहयोग पु¥याउनेछ । यो विधि भविष्यमा विश्वभर बनजंगल रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।