भोजपुर, १२ भदौः यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान आयोगको काममा ढिलाइ भएकोे छ । आयोगको जिल्ला समितिअनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र सिफारिस गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै भए पनि धेरै स्थानीय तहले यसमा गम्भीर ध्यान नदिएको देखिएको छ ।
आयोगले बारम्बार छलफलमार्फत स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे पनि अहिलेसम्म अपेक्षित तथ्याङ्क आउन ढिलाइ हुने गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिनुभयो ।
“आयोगले प्राथमिकताका साथ काम अघि बढाइरहेको छ,” अध्यक्ष चौलागाइँले भन्नुभयो,“तर कतिपय स्थानीय तहले यसलाई गम्भीरताका साथ नलिएको भान भएको छ । वडास्तरबाट आउने तथ्याङ्क पठाउन ढिलाइ भइरहेको छ । यसले आयोगको काममा बाधा पुगेको अवस्था छ ।”
हालसम्म पालिकबाट प्रमाणीकरण भएर षडानन्द नगरपालिका र आमचोक गाउँपालिकाबाट मात्र तथ्याङ्क आएको छ । पौवादुङमा गाउँपालिका र हतुवागढीमा प्रमाणीकरणको काम करिब अन्तिम चरण रहेको आयोगले जनाएको छ । अन्य केही स्थानीय तहले आंशिक रूपामा काम गरे पनि भोजपुर नगरपालिकाले भने अहिलेसम्म कुनै पनि तथ्याङ्क नपठाएको आयोगको भनाइ छ ।
आयोगका सदस्य–सचिव तथा नापी कार्यालय प्रमुख सागरराज गिरीका अनुसार अहिलेसम्म भोजपुरमा ९६० जनाको मात्र नामावली प्रविष्ट भएको छ । अझै पनि धेरै जसो स्थानीय तहको विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
–––