भदौ १२, २०८२ बिहिबार

भक्तपुर, १२ भदौः भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा-रानीकोट हुँदै पनौती जाने सडक पहिरोका कारण दुर्घटनाको उच्च जोखिममा परेको छ । सूर्यविनायक चोकबाट घ्याम्पेडाँडा, रानीकोट हुँदै काभ्रेको पनौती जोड्ने सडकमा पहिरो गएपछि यातायातका साधन आवागमनमा समस्या पर्नुका साथै पहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएको हो ।

    रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले भक्तपुरबाट पनौती जाने एक मात्र वैकल्पिक सडकको रूपमा रहेको घ्याम्पेडाँडा–रानीकोट खण्डमा पहिरो गएको बताउनुभयो । उक्त खण्ड भएर पनौती जाने छोटो दूरीको सडक पहिरोको उच्च जोखिममा रहेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “सूर्यविनायकबाट काभ्रेको पनौती पुग्ने छाटो दूरीको यो एक मात्र सडक हो । यो पर्यटकीय सडक पनि हो । सूर्यविनायकको पर्यटकीय क्षेत्रका रूपमा परिचित रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको चाप बढिरहेको अवस्थमा एक महिनादेखि पटकपटक पहिरो गइरहेको छ । केहिदिन यता खानेपानीको पाइप फुटेर पानी बगेपछि थप पहिरो गएर जोखिम बढेको हो, यहाँ कुनै पनि बेला दुर्घटना हुनसक्ने जोखिम छ ।”

    पहिरो जान थालेपछि पनौतीबाट दूध, तरकारीलगायत दैनिक खाद्यान्नका सामग्री बोकेर सूर्यविनायक आउने–जाने सवारीसाधनमा कमी भएको बकेँले बताउनुभयो । साथै घ्याम्पेडाँडा र रानीकोट जाने स्थानीयवासी एवं पर्यटकलाई सास्ती भएको उहाँको भनाइ छ । 

    पर्यटन व्यवसायी बकेँले भन्नुभयो, “रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्य हुने गथ्र्यौ, सडकका कारण पर्यटन व्यवसायमा समस्या आएको छ । घ्याम्पेडाँडामाथि रानीकोटसम्म आएको पहिरो हरेक वर्ष म आफैँले डोजर लगाएर पन्छाउने गर्थे । यसवर्ष पनि पन्छाउँदै आएको छु, तर सूर्यविनायकबाट घ्याम्पेडाँडासम्मको सडक थप जोखिममा परेको छ ।”

    उहाँले हरेक वर्ष घ्याम्पेडाँडा हुँदै रानीकोट जाने सडकमा पहिरो जाने गरेपनि देशको तीनवटै सरकारले बेवास्ता गरेको गुनासो गर्नुभयो । हरेक दिन पनौतीबाट सूर्यविनायकसम्म सयौँ सवारीसाधान ओहोरदोहोर गर्ने यो सडक उच्च जोखिममा पर्दा पनि पहिरो नियन्त्रण गर्न र पहिरो पन्छाउनेबारे कसैले चासो नदिएको यहाँका पर्यटन व्यवसायीको गुनासो छ । 

    घ्याम्पेडाँडाका स्थानीय समिर लामाले यो सडकको अवस्था नाजुक भएको, कालोपत्र उप्किएर खाल्डैखाल्डो भएको र साँघुरो भएकाले स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको गुनासो गर्नुभयो ।