भदौ १४, २०८२ शनिबार

बाजुरा, १३ भदौः लगातारको अविरल वर्षाका कारण पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको छ । पहिरोका कारण बडीमालिका नगरपालिका–७ जिल्लीको तलगाउँ उच्च जोखिममा रहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । 

    यही भदौ ६ गते आएको वर्षाका कारण तलगाउँको तलपट्टीबाट पहिरो गएपछि गाउँका २० घर उच्च जोखिममा परेको उहाँको भनाइ छ । “पहिरोका कारण २० घरमध्ये आठ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । 
 
    शुक्रबार वडाध्यक्ष पाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीले २० परिवार जोखिममा रहेको र आठ परिवार स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको अनुगमन टोली सदस्य तथा वडा सदस्य पार्वती जोशीले बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराका अनुसार जिल्लामा ५३ बढी बस्ती पहिराको उच्च जोखिममा छन् ।